समाचार

पुनर्निर्माण प्राधिकरणमा नयाँ सिइओ ल्याउने चलखेल

काठमाडौं– सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ( सुशील ज्ञवालीलाई हटाउने संकेत दिएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिइओ ज्ञवालीले पुनिर्माणको काम सन्तोषजनक र अपेक्षा अनुसार नगरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेपछि यस्तो संकेत मिलेको हो।
प्रधानमन्त्री दाहालले गत भदौ २३ गते व्यवस्थापिका संसदमा भूकम्प प्रभावित प्रति घरधुरी ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेका थिए। ४५ दिनभित्र सबै पीडित परिवारलाई पहिलो किस्ताको अनुदान दिन प्रधानमन्त्री दाहालको निर्देशन थियो। तर अपेक्षाकृत काम नभएपछि प्रधानमन्त्री झन् असन्तुष्ट छन्। उनको काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टीकरण सोधेको हो । विहीबारको मन्त्रिपरिषद् बैठकले ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सात दिनभित्र स्पष्टीकरण दिन भनेको हो । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ज्ञवालीलाई विहीबार नै स्पष्टीकरण पठाएको मुख्यसचिव डा. सोमलाल सुवेदीले बताए । ‘सता दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय भएको छ, उनले भने, विहीबार नै स्पष्टीकरण दिइसकिएको छ ।’
त्यस्तै, प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आर्चायले सरकारले ज्ञावलीसँग स्पष्टिकरण लिइसकेको जानकारी दिए। ‘ज्ञवालीले तीन बुँदे स्पष्टिकरण पेपर बुझाएका छन्’ उनले भने, ‘स्पष्टिकरण चित्त बुझेन भने सरकारले नयाँ सिइओ ल्याउन सक्छ।’