प्रदीप परियार थापा मगर
आफ्नो जीवनको ३३ प्रतिशत (२५ वर्ष) उमेर समाज सेवामा, त्यो पनि अमेरिकाबाट नेपाल फर्केर लगानी गर्ने कर्मठ नेपाली छोरो हुन्– डा. महाबिर पुन मगर । नेपालका सुपरिचित समाजसेवी डा. पुनले नेपाल र नेपालीको बिकासमा कायापलट ल्याउने सपना बोकेर विश्वभरका नेपालीहरु बीच महादान संकलनको महाअभियान थालनी गरेकाछन् ।
उनले स्थापना गरेको ‘नेपाल आविष्कार केन्द्र’ को घोषित उद्देश्य ‘नेपालमा विज्ञान तथा प्रविधिको विकास प्रतिभाशाली नेपालीहरूबाट नै गर्ने र गराउने महान अभियान’ रहेको छ । त्यो उद्देश्यलाई पूरा गर्न नेपाली युवा प्रतिभाहरूले गर्ने नयाँ आविष्कारहरूलाई फण्डिङ र मेण्टरिंगमा लगानी गर्ने केन्द्रको लक्ष छ । त्यो लक्ष पूरा गरिदिन नेपाल सरकारले आनाकानी गरेपछि, अझ उनकै भाषामा ४ वर्ष ‘झुलाए’ पछि उनी नेपाली जनताबाटै यो लक्ष पूरा गर्ने अठोट लिएर विश्व दौडाहामा निस्केका हुन् । आगामी जनवरीदेखि नेपालको ७५ वटै जिल्लाका जनातासँग घरदैलो गर्ने कार्यक्रम पनि उनले सार्बजनिक गरेकाछन् ।
केन्द्रको घोषित उद्देश्य पूरा गर्न उनको एउटै आह्वान छः नेपाली जनताबाट ५० करोड रुपैयाँ महादान संकलन गर्ने र उक्त महादान रकमलाई हाईड्रो पावर प्रोजेक्टमा लगानी गरी १० मेगावाट बिजुली उत्पादन गर्ने । उक्त उत्पादित बिजुली बिक्री गरी आउने वार्षिक आम्दानी ३० देखि ४० करोड रुपैयाँले नेपाली युवा प्रतिभाहरूले गर्ने नयाँ–नयाँ आविष्कारमा लगानी गरी तरक्की गर्ने । के यो सम्भव होला ? डा. पुन आत्मविश्वासका साथ भन्छन्– ‘यो मेरो एउटाको मात्र आँट होईन । सबैको आँट र सहयोग चाहियो, यसमा । एक लाख नेपालीहरुले मात्र यो कुराको महत्व बुझिदियो भने र ती हरेक नेपालीले पाँच हजार रुपैंया महादान दियो भने ५० करोड रुपैयाँ संकलन हुन्छ ।’
उसो त, डा. पुनले आफ्नो नाममा भएको सिरिखुरी सम्पत्ती रू ३ करोड पर्ने पोखराको बेगनास ताल नजिकै रहेको २७ रोपनी जग्गा ‘राष्ट्रिय आविष्कार केन्द्र’ लाई अनुदान दिई सकेकाछन् ।
डा. पुन पनि एक समय अमेरिका बसेका भूतपूर्व अमेरिकी नेपाली एनआरएन हुन् । उनी अमेरिकी विश्वविद्यालय युनिभर्सिटी अफ नेब्रास्काबाट सन् १९९६ मा बिज्ञान शिक्षा विषयमा ब्याचलर्स र सन् २००१ मा शैक्षिक प्रशासनमा सोही विश्वविद्यालयबाट मास्टर्स गरेर नेपालमा केही गरौं भन्दै मातृभूमि फर्केका कर्मवीर नेपाली आमाका सच्चा भूमिपुत्र हुन् ।
डा. पुनले सन् २००२ देखि आफ्नो जन्मथलो म्याग्दी जिल्ला र वरिपरीका जिल्ला र गाउँलाई इन्टरनेटबाट जोड्ने वायरलेस प्रोजेक्ट शुरु गरेका थिए, जसबाट अहिले १५ जिल्लाका १७५ गाविसहरुका लाखौं जनता ग्रामिण वायारलेस इन्टरनेट सुबिधाबाट लाभान्बित हुन पुगेका छन् ।
डा. पुनलाई आफ्नो मातृभूमि नेपाल फर्केर उल्लेखनीय सामाजिक कार्य गरे वापत उक्त विश्वविद्यालयले सन् २००७ मा अनररी डाक्टर अफ लेटर्स बिद्यावारिधीबाट सम्मानित गरेको छ । सन् २००७ मै डा. पुनलाई एशियाको नोबेल पुरस्कार मानिने पूर्व फिलिपिनो राष्ट्रपतिको नाममा स्थापित मेगासेसे पुरस्कारद्वारा सम्मानित गरिएको थियो भने उनी सन् २००२ को अशोका फेलो पुरस्कार बिजेता पनि हुन् । त्यसै गरी, सन् २०१४ मा इन्टरनेट सोसाईटीले डा. पुनलाई नेपालमा वायरलेस टेक्नोलोजी गाउँगाउँमा पु¥याउन महत्वपूर्ण भूमिका निभाएकोमा जोनाथन बि पोस्टेल सर्भिस पुरस्कारबाट सम्मानित गरेको थियो ।
यसैबीच, न्यूयोर्कका नेपालीहरूले गत डिसेम्बर १७ तारिख डा. पुनको उपस्थितिमा केन्द्रको लागि अमेरिकी डलर $२,६६७ महादान संकलन गरेकाछन् । त्यसैगरी, न्यूयोर्कमा केन्द्रको अभियान र महादान संकलनबारे सम्पर्क र जानकारी गर्न तेम्बा दोंग्वा ह्योल्मो, लिला राई, राम राई, विनोद पोमो, विष्णु राना मगर र प्रदीप परियार थापा मगर रहेको सहज समिति निर्माण गरिएको छ । केन्द्रको अभियानमा महादान गर्न नेपालस्थित केन्द्रको बैंक एकाउण्टमा सिधै डिपोजिट गर्न पनि सकिन्छ । ‘राष्ट्रिय आविस्कार केन्द्र’ को वेवसाईट www.nicnepal.org मा सम्पूर्ण विवरण दिईएकोछ । अमेरिकी महादानकर्ताहरूले ट्याक्स डिडक्टेवल महादान गर्न चाहेमा डा. पुनकै नेपाल वायरलेस प्रोजेक्ट www.nepalwireless.net को अमेरिकी सिस्टर संस्थाको खातामा डोनेसन गरेमा ट्याक्स रिटर्न पाउनेछन्।
महावीरको महादान अभियानमा लाग्ने होईन त ? नेपाल आमाको भाग्य बदल्न र सुदिन फिराउन आँट गरेर अघी बढेका डा. महावीरलाई होस्टेमा हैसे गर्न चुकौंला है ।
अतिथी सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाईन डट कम’ का प्रधान सम्पादक र ‘जातीय विभेद र छुवाछुतको अन्त हाम्रै पालामा’ (इण्डअफकास्ट डट कम) का अभियन्ता पनि हुन् ।
Comments