समाचार

आज विश्वभर क्रिसमस मनाइँदै

काठमाडौं– क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मोत्सवको अवसरमा देशभरका गिर्जाघरमा क्रिसमस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।
आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासङ्घका अध्यक्ष सिवी गहतराजले जानकारी दिनुभयो । “हाल नेपालमा आठ हजार ५०० गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी छन्, विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस हाल सार्वजनिक स्थलमा पनि मनाइन्छ”– उहाँले भन्नुभयो ।
क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ । ‘क्रिसमस ट्री’ लगायतका सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदैआएको छ । क्रिसमसको अवसर पारेर महासङ्घले आइतबार दिउँसो राष्ट्रिय नाचघरमा महोत्सव कार्यक्रम राखेको छ ।

यसैबीच, सरकारले आइतबार क्रिसमस डेको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट विदा तोकिएको हो । यसअघि राजपत्रमा प्रकाशित सार्वजनिक विदा सूचीमा क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिइएको थियो ।

तर, शनिबार मन्त्रीस्तरीय निर्णयबाट सबैलाई विदा दिने निर्णय गरिएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । गृह मन्त्रालयले विज्ञप्ति निकालेर देशभर र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा समेत लागू हुने गरी विदा दिने निर्णय भएको जनाएको छ । सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदैआएको थियो । तर, गत वर्ष सरकारले क्रिष्टियन धर्मावलम्बीहरुका लागि मात्र विदा दिने निर्णय लिएको थियो । 

१० पुस २०७३ ।