मनोरंजन

कलाकारको कलाकारिता कतातिर ?

-रीता शर्मा

 कोही राजनीतिक दलका कार्यकर्ता त कोही ब्राण्ड एम्बेस्डर !

नेपाली कलाकारहरु कलाकारिता भन्दा पनि राजनीतिक दलका कार्यकारिन्दा बनेका खबरले बेला–बेलामा चर्चा पाउन थालेको छ । अभिनय भन्दा पनि पछिल्लो समय पार्टी प्रवेशका कुराले उनीहरुको बढी चर्चा हुन थालेको हो । नायकिा रेखा थापाले राप्रपा प्रवेश गरेको समाचार सेलाउन नपाउँदै पुनः दर्जन बढी कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेको समाचारले चर्चा बटुलेको छ । 

बुधबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमै पुगेर झण्डै दर्जन बढी कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरे । निर्देशक रमेश बुढाथोकी, नायिका रिस्ता बस्नेतसहित १० जना कलाकारलाई सभापति देउवाले अविरमाला लगाइदिए । कलाकार विपना बस्नेत, कलाकार संघका अध्यक्ष रामकेसर बोगटी, प्राबिधिक पुस्कर लामा, युवराज चौलागाई, पूर्णम राई, प्रतिक्षा खड्का, नम्रता योगी र रञ्जु सुनाम कांग्रेसमा प्रवेश गरेका हुन् । यसअघि निर्माता संघका अध्यक्ष राजकुमार राई, अभिनेता निर शाह, नायिका मेलिना मानन्धरले कांग्रेसको टीका लगाइसकेका छन् । 

अहिले बरिष्ठदेखि कनिष्ठ कलाकारहरु राजनीतिमा प्रवेश गर्नुले कलाकारलाई राजनीतिक रोग लागेको हो कि कलाकारहरु कलाकारितामा बिग्न नसकेपछि हाम फालेका हुन् छुट्याउन नै गाह्रो हुन थालेको छ । पहिले–पहिले एकाध कलाकारहरु राजनीतिमा लागेको सुनिन्थ्यो । तर, उनीहरु राजनीतिमा लागे पनि पार्टीको झण्डा नबोकी सबै पार्टीले गर्ने कार्यक्रममा सरिक भएर आफ्नो अभिनय देखाउथे । दलका भ्रातृ संगठनले कलेज तथा स्कूलमा गरेका कार्यक्रममा मात्र नभएर राजनीतिक दलहरुले नै गरेका कार्यक्रममा कलाकारहरु सरिक हुने गरेको पाइन्थ्यो । यो पार्टी उ पार्टी भन्दा पनि जुन पार्टीका कार्यकर्ताले आग्रह गरेपछि निमन्त्रण सहर्ष स्वीकार गरेर सहभागी हुने गरेको देखिन्थ्यो ।  तर, पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा राम्रै छवि बनाउन सफल कलकारहरु समेत धमाधम पार्टीमा टिका लगाएर झण्डा नै बोक्ने लहर चल्नुले कलाकारिताको विकास र प्रवद्र्धनमा समेत प्रश्न खडा भएको छ । 

यो लहर चलेको लामो समय पनि भएको छैन । पछिल्लो एक वर्षको यताको समयलाई हेर्ने हो भने पुरानी तथा सदावहार नायिका करिश्मा मानन्धर नयाँ शक्तिमा लागिन् । उनी नयाँ शक्तिमा प्रवेश गर्दा एक दर्जन बढी पुराना तथा नयाँ अनुहार नयाँ शक्तिमा होमिए । यो विषयले पनि त्यसताका चर्चा बटुल्यो । त्यस्तै, केही समय अघि राप्रपा  र राप्रपा नेपाल एकिकरण भएपछि खुलेरै गायिका कोमल ओली राप्रपामा प्रवेश गरिन् । उनी पहिलेदेखि राजावादी रुपमा चिनिए पनि कांग्रेसमा समर्थन जनाउँदै आएको सुनिन्थ्यो । अन्ततः उनी राप्रपामा प्रवेश गरिन् उनी आफू मात्र राप्रपामा प्रवेश नगरेर त्यसको एक हप्ता नबित्दै नायिका रेखा थापालाई राप्रपामा तान्न सफल भइन् । रेखाको राप्रपा प्रवेशले धेरैले सामाजिक सञ्जालमा आलोचना गरे पनि उनले भने माओवादी केन्द्रको आफूले सदस्यता पनि नलिएको खुलाइन् । उनले निधारमा रातो टीका लगाएर पार्टी अध्यक्ष तथा बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कम्मर मर्काएको दर्शकले विर्सिएका छैनन् । यही विषयमा कलाकारहरुले चर्को कटाक्ष गरे । मौन समर्थन राख्ने जो कोही हुन्छन्, यसमा कसैको दुईमत छैन । तर, कलाकार भएर खुलेआम पार्टीको झण्डाबोक्नुको पछाडि केही न केही स्वार्थ अवश्य लुकेको होला । त्यो भविष्यमा छर्लङ्ग हुनेछ । कलाकार राजनीतिमा होमिनु कलाकारिताका लागि एउटा पाटो हो भने भने अर्का पाटो कलाकार धमाधम ब्राण्ड एम्बेस्डर बन्नु पनि भएको स्वयं कलाकारहरु नै बताउँछन् । 

नायक राजेश हमाल एनएमबी बैंकका ब्राण्ड एम्बेस्डर छन् भने, मंगलबार मात्रै धुर्मुस–सुन्तलीलाई बैंक अफ काठमाडौंले आफ्नो एम्बेस्डर घोषित भएका छन् । दीपकराज गिरी, दीपाश्री निरौला कृषि विकास बैंको एम्बेस्डर छन् भने मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य सानीमा बैंको एम्बेस्डर । त्यस्तै सुनिल थापा अर्घाखाँची सिमेन्टको ब्राण्ड एम्बेस्डर बनेका छन् । यी त प्रतिनिधि उदाहरुण मात्र हुन् । अधिकांश कलाकार कलाकारितामा बिक्न छाडेपछि उनीहरुले आफ्नो परिचय बदल्न थालेको पाइन्छ । व्यावसायिक प्रवद्र्धनको लागि एम्बस्डर बनाइनु तथा घोषित गरिनु उक्त कम्पनिका लागि फाइदा होला तर, कलाकार भएपछि कलाकारिताको विकास हुनु महत्वपूर्ण पक्ष हो । एम्बेस्डर बनेकै भरमा यो कदापि हुँदैन । अझ यसले आफूले कमाएको ईज्जत बढ्नुको साँटो घट्ने हो कि भन्नेतर्फ कलाकारहरु सचेत हुनुपर्ने हो तर त्यो देखिदैन ।

वास्तवमा कलाकार राष्ट्रका गहना हुन् । उनीहरुको धर्म कलाकारिता गर्नु हो । कुनै पार्टीको झण्डा बोकेर, पार्टी प्रवेश गरेर कलाकारको नाममा कार्यकर्ता बन्न कत्ति सुहाउँदैन । त्यस्तै ब्राण्ड एम्बेस्डर बन्नु र बनाइनुले पनि नेपाली कलाकारिता क्षेत्रको खस्कँदो अवस्थामा मलजल गरेको प्रतीत हुन्छ । यसरी कलाकारहरुले आफ्नो धर्म छाडेर कोही ब्राण्ड एम्बेस्डर त कोही राजनीतिक कार्यकर्ता बन्नुले नेपाली कलाकारिताको भविष्य कता जाने हो ? जो कोहीले सहज रुपमा अनुमान लगाउन सक्ने अवस्था छ । 

७ पुस २०७३ ।