समाचार

जनजाति महासंघको अध्यक्षमा जगत निर्वाचित

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा जगतबहादुर बराम निर्वाचित भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी, नयाँ शक्ति पार्टीको संयुक्त प्यानलका उम्मेदवार बरामले नेकपा एमाले निकट सूर्यबहादुर भूजेललाई पराजित गर्दै निर्वाचित भएका हुन्।
नेपाली कांग्रेस निकट बरामले ३१ मत पाएका थिए। भूजेलले २३ मत पाएको निर्वाचन समितिले जनाएको छ। भूजेल नगेन्द्रबहादुर कुमाल नेतृत्वको अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए भने बराम कोषाध्यक्ष थिए। महासचिवमा पनि संयुक्त प्यानलकै नित्यानन्द ताजपुरिया विजयी भएका छन्। उनले ३७ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी टासी ह्योल्मोले १५ मत पाए।
महासंघमा बलियो रहेको एमालेलाई पाखा लगाउन चितवनमा भएको नवौं महाधिवेशनमा कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी एक भएको बुझिएको छ। महासंघको उपाध्यक्षमा किरण सुनुवार, गणेशलाल थकाली, गोविन्द छन्त्याल, नवीन रोका, लोकबहादुर दुरा, श्यामप्रसाद मण्डल, सोनम लामा, कृष्णकुमारी शेरचन निर्वाचित भएका छन्। सचिवमा आङपाङ शेर्पा, गोपाल माझी, दानसिंह राउटे, राजकुमार बोटे, सुखवीर थामी, लाक्पा हिसे शेर्पा, शान्तिदेवी धिमाल, सुखमती राजवंशी, सोनम लामा मुगाली, श्रुतिमाया कुमाल तथा कोषाध्यक्षमा मुकुन्दबहादुर पहरी निर्वाचित भएका छन्।

६ पुस २०७३ ।