काठमाडौं– स्वास्थ्य मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुलाई परिपत्र जारी गर्दै आचरणको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ दफा (५२(६७) मा उल्लेख भएअनुसारको आचरणसम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन गर्न निर्देशन दिएको हो।
उक्त आचरण अनुसार स्वास्थ्यकर्मीले विरामी तथा कुरुवाहरुलाई शिष्ट, नम्र तथा उत्तरदायी बन्नुपर्ने कुरा उल्लेख गरिएको छ । स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुबाट अशिष्ट, अभद्र र अफ्ट्यारो व्यवहार भइरहेको गुनासो आएपछि स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा परीपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको चिकित्सा महाशाखाले निर्देशनात्मक परिपत्र पठाउदै सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा रहँदा अनिवार्य रुपमा पोशाक, एप्रोन तथा परिचय पत्र लगाएर कार्य गर्न समेत निर्देशन दिइएको छ ।
साथै सम्पूर्ण सरकारी अस्पतालहरुले टिकट काउन्टर अगाडि सबैले देख्ने गरी हरेक चिकित्सकहरुको सेवा दिने दिन र समय स्पष्ट रुपमा देखिने गरी राख्न पनि भनिएको छ। निर्देशन पालना नभएमा उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने निर्देशनमा उल्लेख छ।
६ पुस २०७३ ।
Comments