बुटवल– नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालका रुपन्देही जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्या प्रकरणलाई लिएर बुटवल र भैरहवामा आन्दोलन चर्काइएको छ । युवा संघले हत्या विशुद्ध राजनीतिक हिसावले भएको दावी गर्दै हत्याको निस्पक्ष छानविन गरी दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएको छ । युवा संघ केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले हत्यामा जो सुकैलाई प्रयोग गरिएको भएपनि घटना विशुद्ध राजनीतिक प्रतिशोधका कारण भएको दाबी गरेका छन् ।
नेकपा (एमाले) ले जिल्ला अध्यक्ष तिवारीमा माथि गोली हानी हत्या भएको घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ । एमालेका महासचिव इश्वर पोखरेलले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता र स्वाभीमानका पक्षमा सञ्चालित आन्दोलनमा सक्रिय तिवारीको हत्याले उक्त आन्दोलनलाई कमजोर बनाउने र अर्कातर्फ साम्प्रदायिक सद्भाव बिथोलेर मुलुकमा विखण्डन सिर्जना गर्न गम्भीर आपराधिक षड्यन्त्र भइरहेको आशंका पैदा भएको जनाइएको छ ।
विज्ञप्तिमा हत्या र षड्यन्त्रको पर्दाफास गर्दै संयम र धैर्यका साथ राष्ट्र, राष्ट्रियता, संविधान कार्यान्वयन र अग्रगमनको यात्रामा अविचलित सक्रियताका साथ भएर लागिरहन कार्यकर्ता पङ्क्तिलाई पार्टी आग्रह गरिएको छ ।
यसैबीच, जिल्ला अध्यक्ष तिवारीको हत्याको जिम्मेवारी मनोज राना पुनले लिएको जिल्ला प्रशासन कार्यलय रुपन्देहीका प्रमुख विनोद सिंहले जानकारी दिएका छन्। उनले प्राइभेट नम्वरबाट फोन गरेर म पुन हुँ भन्दै घटनाको जिम्मेवारी लिएको सिंहले जानकारी दिए । उनका अनुसार घटना भएको करिव १ घण्टापछि रुपन्देहीका एमाले नेता धुव्र खरेललाई फोन आएको हो। प्रहरीले उनको हत्या राजनीतिक कारणले नभई ब्यक्तिगत कारणले भएको प्रारम्भिक निष्कर्ष निकालेर अनुसन्धान अगाडि बढाइरहेको छ।
मोटरसाइकलमा आएका २ जनाले प्रहार गरेको गोली लागेर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्लाको देवदह नगरपालिका –६ खैरेनीका ४० वर्षीय तिवारी स्थानीय केविआइ इट्टा भट्टका सञ्चालकसमेत हुन्।
प्रहरीले पनि तिवारीको हत्यामा पुराना दुश्मन मनोज पुनको संलग्नता रहेको दाबी गरेको छ । रुपन्देही डीएसपी वेलबहादुर पाण्डेले आफूहरुको प्रारम्भिक अनुसन्धान अनुसार मनोज पुनको समूहले हत्या गरेको खुल्न गएको बताए ।
‘अहिले अनुसन्धन जारी छ, शंकाको दायरा साघुरो भयो, पुनले नै हत्या गरेको देखिन्छ’ पाण्डेले भने,‘तर अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकिएको छैन ।’
तिवारीलाई ६ महिनाअघि मनोजले नै उनको इट्टा उद्योगमा गोली प्रहार गरेका थिए । तर, त्यो बेला गोली छलेर बच्न सकेका थिए । ‘मनोजमाथि कर्तव्य ज्यानकै मुद्दा थियो, तर उ फरार थियो’ पाण्डेले भने ‘उसले अहिले अनुकुल मिलाएर तिवारी माथि गोली हान्यो ।’
६ महिना अगाडि तिवारीमाथी गोली प्रहार भएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरेको भए पनि मुख्य योजनाकार मानिएका मनोज भने भने फरार भएका थिए । फरार रहेका अभियुक्त मनोज अहिले भारतमा हुनसक्ने प्रहरीको अनुमान छ । मनोजले बेला–बेलामा तिवारीलाई फोनबाट धम्की दिँदै आएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।
...............................................................................................................................................................
हत्याको विरोधमा लुम्बिनी अञ्चल बन्द
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा लुम्विनी अञ्चल बन्द गरिएको छ । रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, गुल्मी तथा अर्घाखाँचीमा बन्द भएको छ । बन्दका कारण मंगलबार बिहानैदेखि गाडी चलेका छैनन् । बजार, पसल तथा शैक्षिक र्सस्थाहरु ठप्प छन् । हत्यारालाई पक्राउ गरी कानुनी कारवाहीको माग गर्दै नेकपा एमालेले लुम्विनी अञ्चल बन्दको आह्वान गरेको हो ।
पाल्पामा सोमाबार बेलुकादेखि नै बन्द छ । युवा संघ पाल्पाका अध्यक्ष करुणा काफ्लेले मंगलबार बिहान ६ देखि बेलुक ६ बजेसम्म बन्द रहेको जानकारी दिए । यस्तै युवा संघ कपिलवस्तुले आह्वान गरेको चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग, चन्द्रौटा–कृष्णनगर, जितपुर–तौलिहवा र तौलिहवा–लुम्विनी सडकखण्डमा गाडी चलेका छैनन् ।
......................................................................................................................................................
केन्द्रको टोलीले अनुसन्धान गर्दै
तिवारीको हत्या अनुसन्धानका लागी काठमाडौंबाट विषेश टोली लुम्बिनी गएको छ । अञ्चल प्रहरी कार्यलय लुम्विनीका प्रमुख एसएसपी शेरबहादुर बस्नेतका अनुसार गम्भिर प्रकृतिको घटना भएकाले केन्द्रबाटै विशेष टोली मगाइएको हो।
उनले टोलीबारे विस्तृत खुलाउन भने चाहेनन्। घटना गम्भिर रहेकाले अनुसन्धानमा सघाउन केन्द्रबाट टोली माग भएको जानकारी मात्र दिए । कुनै जिल्लाले अनुसन्धानमा सहयोग मागे प्रहरी प्रधान कार्यालयले केन्द्रिय अनुसन्धान ब्यूरोबाट टोली पठाउने गर्दै आएको छ। गत फागुनमा तिवारीमाथि भएको आक्रमणको पनि केन्द्रको टोलीले नै अनुसन्धान गरेको थियो। अहिले पनि उक्त टोली नै लुम्बिनी पुगेको जनाइएको छ ।
त्यस्तै, तिवारी हत्या घटनाको अनुसन्धान गर्न युवा संघले पनि आफ्नै छानविन टोली बनाएको छ। संघले किरण पौडेलको नेतृत्वमा तीन जनाको टोली गठन गरेको हो । सघको टोली मंगलबार बुटवल जाने संघका प्रवक्ता प्रभात विक्रम कटवालले जानकारी दिए।
५ पुस २०७३ ।
Comments