समाचार

कांग्रेस, माओवादी केन्द्र र मोर्चाबीच चर्काचर्की

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव परिमार्जन नगर्ने बताएपछि कांग्रेस, माओवादी केन्द्र र मोर्चाका नेताहरूबीच बालुवाटारमा चर्काचर्की भएको थियो। संघीय प्रदेशको सीमांकन र नागरिकताका विषयमा थप परिमार्जन खोज्दै मोर्चाका नेताहरूले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई स्वीकार गरेका छैनन्।
बैठकमा मोर्चा नेताहरूले संशोधन प्रस्ताव फिर्ता लिए आन्दोलनमा जाने, परिमार्जन नभए स्वामित्व नलिने बटमलाइन राखेपछि कांग्रेस र माओवादी नेताहरू मोर्चासँग क्रुद्ध बनेका हुन् । प्रतिपक्षी एमालेले प्रस्ताव अघि बढ्न नदिइरहेका बेला मोर्चाले समेत शर्त थप्दै गए प्रस्ताव अघि बढाउनुको साटो सीधै चुनावतिर लाग्ने उनीहरूको चेतावनी थियो।
मधेसी मोर्चाले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमा थप परिमार्जन खोजिरहेका बेला सत्तापक्षबाट परिमार्जन नहुने अडान आए मोर्चासमेत अन्योल बनेको छ । ‘यही संशोधन प्रस्ताव अघि बढाउन खोज्दा त यत्रो भाँडभैलो मच्चाउन खोजिएको छ, अझ दाँयाबाँया गर्‍यो भने थाम्न गाह्रो हुन्छ भन्ने हाम्रो साझा बुझाइ हो,’ कांग्रेस र माओवादी केन्द्र दुवै दलका नेताहरूले शनिबार साँझ बालुवाटारमा बसेको बैठकमा मोर्चासँग भएको कुराकानीबारे भनेका छन्, ‘हामी मोर्चाकै लागि संशोधन गर्न खोज्ने, उहाँहरू स्वामित्व नै नलिने भए हामीमात्रै कस्सिएर हुन्छ ?’
कांग्रेस र माओवादीका नेताहरू भने भाषागत सुधारबाहेक अन्तर्वस्तुमा परिमार्जन हुन नसक्ने निष्कर्ष सुनाउँदै यसैलाई स्वीकार गरेर अघि बढ्न आग्रह गर्दै आएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्तावलाई स्वीकार गरेर स्थानीय तहको निर्वाचनमा जान सहमत हुनुपर्ने प्रस्ताव राखे पनि मोर्चाका नेताहरू तयार नभएपछि अब कुन बाटो लिने भन्नेमा सत्तारूढ दलमै अन्योल खडा भएको छ।

४ पुस २०७३ ।