समाचार

विद्यालय पुनर्निमार्णमा सहयोगी हातहरु जुट्दै

काठमाडौं- २०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्प र त्यसपछिका परकम्पका कारण भत्किएका भौतिक संरचनाहरुको पुनर्निर्माणका लागि सरकारी तवरबाट भए गरिएका कामले गति लिन नसकिरहेका बेला सामाजिक संघ संस्थाहरुले गरेको काम सह्रानीय छ । 
स्थानीय युवाहरुलाई समेट्दै केही संघ–सस्थाहरुले पुनर्निर्माणको कामलाई गति दिएका छन् । जसमा घाँसी आर्दश समाज नेपाल (घाँसी नेपाल) नामक संस्थाको अग्रपंक्तिमा छ । संस्थाले काठमाडौंका भत्किएका विद्यालयहरु प्राथमिकताका आधारमा पुनर्निर्माण गर्ने कामलाई तीब्रता दिइरहेको छ । संस्थाले अहिले काठमाडौंको नार्गाजुन नगरपालिका– ११ भिमढुंगास्थित बालबोध माध्यामिक विद्यालय पुनर्निर्माणको काम जारी राखेको छ । 
पुनर्निमाणको काममा लियो क्लब अफ काठमाण्डौँ(सयपत्री) र लियो क्लब अफ काठमाडौं (गौरव)का सदस्यहरुले सहयोग गरेका छन् । केही दिन अघि क्लबका करीब तीस जना सदस्यहरुको टोली रामकोट, भिमढुंगा पुगेका थियो । सयपत्रिकी अध्यक्ष जयन्ती शर्माको अगुवाइमा १५ जना र गौरवकी अध्यक्ष सुमित्रा मैनालीको अगुवाइमा १५ जना गरी ३० जनाको टोलीले विद्यालयको भवन पुनर्निर्माणको लागि श्रमदान गरेको हो । 
श्रमदानमा सरिक दुबै क्लबका सदस्यहरुलाई स्वागत गर्दै संस्थाका अध्यक्ष माधव घिमिरेले उनीहरुको कामको मुक्तकण्ठले प्रसंसा गर्नुभयो । उहाँले  आगामि दिनमा सहयोगको याचना गर्नुभयो । उहाँले निस्वार्थ सहयोगी हात जुटेमा पुनर्निर्माणको काम चाडै समापन हुने बताउनुभयो । उहाँले विद्यालयको भवन निर्माणका लागि संस्थाका  पदाधिकारी र विभिन्न  संस्थाबाट श्रमदान गर्न आउनेको संख्या पनि बढेकोमा खुशी व्यक्त गर्नुभयो ।