समाचार

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति छानविन गरिने

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति छानविन गर्ने भएको छ । वर्तमान मन्त्रीमण्डलका सदस्यहरुको सम्पत्ति अस्वभाविक देखिएको भन्दै अख्तियारले छानविन गर्ने दावी गरेको हो । 
हाल प्रधानमन्त्रीसहित मन्त्रीमण्डलका सदस्यहरुले सम्पत्ति विवरण सार्वजनिक गरेपछि त्यसको नागरिक समाज र आमनागरिकले सामाजीक संञ्जालमा व्यापक विरोध र असन्तुष्टि जनाएका छन् । मन्त्रीहरुको अस्वाभाविक सम्पत्ति विवरणका सम्बन्धमा नागरिकबाट आएको चासोबारे अख्तियारले ध्यानाकर्षण भएको जनाएको छ । अख्तियार श्रोत भन्छः‘ मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालबाट धेरै शंका व्यक्त भएको छ । मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्रीको वेबसाइटबाट आयोगले पनि प्राप्त गरिसकेको छ । अब आयोगले आवश्यकता अनुसार ती सम्पत्ति विवरणहरुको अध्ययन गर्छ ।’
अख्तियार श्रोतले भन्यो– ‘कुनै मन्त्रीले ५ लाखको किताब किनेको भनेका छन्, त्यो सुहाउने कुरा होइन । यस्ता अस्वाभाविक विषयले छानविन जरुरी देखाउँछ । छानविन गर्दा आयोगले ५ लाखको किताब खोज्न सक्छ । किताव खरिदका प्रमाणहरु खोज्छ ।’