तेह्रथुम– तेह्रथुमको संक्रान्ति बजारमा शुक्रबार भएको भीषण आगलागीमा परी ३२ घर जलेर नष्ट भएका छन् । दिउँसो १२ बजेबाट शुरु भएको आगो साँझ मात्र नियन्त्रणमा आएको हो । पाँचथरको दमकल, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रमाण आएको हो ।
आगो नियन्त्रणमा लिनको लागि समस्या आएपछि तीन वटा घर डोजरले भत्काएर आगो निभाइएको प्रहरीले जनाएको छ । स्थानीय टंक सेडाईको घरबाट सुरु भएको आगलागीमा परी बद्री सेढाई, दिपेस सिटौला, अमृत गहतराज, सूर्य गुरुङ, नारायणी गुरुङ, खड्ग आले, पूर्णबहादुर आले, बुद्धि गुरुङ, हिमलाल थापा, इन्द्र गौतम लगायतको घर जलेका हुन् । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले सवै प्रकारका संयन्त्र प्रयोग गरेर पीडितलाई जतिसक्दो चाँडो राहतको व्यवस्था गर्ने निर्णय गरेको छ ।
१ पुस २०७३ ।
Comments