काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व मंगलबार धुमधामसाथ मनाइँदैछ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिन्छ ।
यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ ।
यसैबीच, किराती समुदायको महान् चाड साकेला उधौली मङ्गलबारबाट सुरु हुँदैछ । यो चाड १५ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइन्छ । प्रकृति पूजक किराँत समुदायले नदी तथा खोलामा पाइने माछा ओरालो (उँधो) धेरै पानी भएको ठाँउतिर बसाइँ सरेको समयलाई उधौली भनेको पाइन्छ । यही उँधो शब्दबाट नै उधौली पर्वको नामाकरण भएको हो ।
उधौली पर्वलाई न्वागी पुजा पनि भनिन्छ। अन्नबाली पाकेको बेला आफ्ना देवीदेवता, पितृलाई अन्न तथा फलफूल चढाएर न्वागी पुजा गर्ने गरिन्छ। किराँतभित्र मुख्यगरी राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाललगायतका जातिहरू पर्ने भएकोले जाति, स्थान र संस्कार अनुसार यो पर्व मनाउने आ–आफ्नो तरिकाहरू रहेका छन् ।
परम्परा अनुसार किराँती धर्मगुरु (नेक्चोल्ङ)ले चुलोको पूजाबाट सुरु गर्ने यस चाडमा धर्मगुरुले साकेला थानमा कुखुराको बलि दिने गर्छन् । सो बलिपछि धर्मगुरुको आदेशबाट साकेला नाच सुरु गरिन्छ । यस पर्वको बेलामा बालबालिका, युवा, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रूपमा नाच्ने गर्छन् । सो नाच नेपालका विभिन्न सहरमा खासगरी युवा वर्गमा बढी प्रचलित र लोकप्रिय छ । नेपालबाहिर खासगरी भारतको सिक्किम, हङकङ, बेलायत, अमेरिका, जापान तथा कोरियामासमेत यो नाच लोकप्रिय छ ।
त्यस्तै, किराती समुदायको बाहुल्य भएको पूर्वी पहाडी जिल्लामा यो चाड विशेष रुपमा मनाइन्छ । प्रकृतिपूजक किरातीले यस अवसरमा आफ्ना पूर्वजको सम्झना गर्दै अन्नको पूजा गर्ने, घरघरमा साकेला नाच्ने र आफन्तबीच शुभकामना आदानप्रदान गर्दै चाड मनाउने गर्छन् । पहाडी जिल्लाबाट बसाइँसराइ गरेर पूर्वी तराईमा झरेका तथा काठमाडौँ उपत्यकामा रहेका किराती पनि एक ठाउँमा भेला भएर साकेला नाच्दै सामूहिक रूपमा चाड मनाउने गर्छन् ।
प्रत्येक वर्ष मङ्सिर पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौलीको रूपमा मनाउने गरिन्छ । किराती पुर्खाले समयको मापन गर्ने गरी दुई भागमा विभाजन गरेर उधौली र उभौली मनाउँदै आएको विश्वास गरिदै आएको पाइन्छ ।
२८ मंसिर २०७३ ।
Comments