समाचार

तेह्रथुममा बस दुर्घटनाः तीन जनाको मृत्यु

तेह्रथुम– तेह्रथुमको जिरीखिम्ती–म्याङ्लुङ सडकखण्डअन्तर्गत म्याङ्लुङ–१ गढीभिरमा यात्रुवाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । यसअघि पाँचजनाको मृत्यु भएको बताइए पनि तेह्रथुम प्रहरीले पुनः सच्याएर तीनजनाको मृत्यु भएको जनाएको हो ।

मृत्यु हुनेमा तेह्रथुम सिम्ले–४ की ४५ वर्षीया कालीमाँया लिम्बू, सोही स्थान बस्ने ६६ वर्षीय गुमानसिंह लिम्बू र सङ्खुवासभा–४ बस्ने अञ्जली याख्खा रहेका छन् । दुर्घटनामा परी अरु २६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थाका नौजनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । ट्रकलाई साइड दिनेक्रममा बस भिरबाट खसेको चालकले प्रहरीसमक्ष बयान दिएका छन् । उनी सामान्य घाइते छन् । चालक बमबहादुर पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धरानबाट तेह्रथुमको औँसीडाँडातर्फ आउँदैै गरेको ना ४ ख २८६५ नंको बस गढीभिरको सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा २९ जना यात्रु सवार थिए ।