समाचार

ट्रककाे ठक्करले पुल भाँचियाे, यात्रा डाइभर्सनबाट

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदले स्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा  पुल भाँचिएपछि अस्थायी डाइभर्सनबाट एकतर्फी यातायात सुचारु गरिएको छ । 
पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना ६ ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा आइतबार बिहान भाँचिएको हो । पुल भाँचिएपछि बिहान केहीबेर लामो दूरीका सवारी आवागमन ठप्प भएको थियो ।  साना हल्का सवारी साधन भने पुल भाँचिएको भागभन्दा अर्को भागबाट सञ्चालनमा ल्याइएको भए पनि जोखिम बढेपछि अहिले पुलबाट ओहोर दोहोर गर्न रोक लगाइएको छ ।  इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार खोलामा अस्थायी डाइभर्सन बनाएर एकतर्फी भए पनि सवारी साधन सुचारु गरिएको छ । 
महेन्द्रराजमार्गको नारायणगढ बुटबल खण्डका  जीर्ण ट्रस ब्रिजहरु योभन्दा अघि पनि पटक पटक भाच्चिने गरेका छन्। चार वर्षअघि दलदलेभन्दा केही पश्चिम प्रगतिनगर लोकाहा खोलको पुल पनि भास्सिएका कारण लामो समय समस्या भएको थियो।
त्यस्तै दुई वर्षअघि गैंडाकोटको जयश्री खोलामा रहेको यस्तै ट्रस पुल ट्रककै ठक्करले भाच्चिएको थियो । सो पुल दुई दुई पटक भाच्चिएपछि अहिले नयाँ बनाउने काम सुरु भएको छ। गाडीहरु बेली ब्रिजबाट आरपार हुँदा सो ठाउँमा पनि कहिले घण्टौं जाम हुने गरेको छ । 

२६ मंसिर २०७३।