बुटलव– सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा सोमबार पनि बुटवलमा आन्दोलन जारी रहेको छ । सीमांकन हेरफेरको विरोध गर्दै विगत ६ दिनदेखि बुटवलमा प्रदर्शन जारी छ । बिहानैदेखि बुटवलका चोक–चोकमा जम्मा भएर प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।
संविधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई तराईसँग अलग गराएर चार नम्बरमा समावेश गरिएको भन्दै आन्दोलन सुरु भएको हो । राजमार्ग चौराहाबाट सुरू भएको जुलुस मिलनचोक, बसपार्क, हस्पिटललाई हुँदै पुष्पलाल पार्कपछि ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीको भनाइ छ ।
संविधान संशोधनको प्रस्ताव आफूहरु स्वीकार्य भएको भन्दै नेपाली कांग्रेस रुपन्देहीले आइतबार विज्ञप्ति जारी गरेपछि आन्दोलनमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माले, अखण्ड नेपाल पार्टी लगायतका नेता कार्यकताहरु सहभागी छन् ।
Comments