काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सहमति जुटाएर निकास दिन दलहरुलाई सुझाव दिनुभएको छ । सरकारले ब्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक गतिरोधको निकास खोज्न राष्ट्रपति भण्डारीले बोलाउनुभएको सर्वदलीय बैठकमा सबै पक्षको सहमति जुटाएर राष्ट्रलाई निकास दिन राष्ट्रपतिले सुझाव दिनुभएको हो ।
सर्वदलीय बैठकमा विपक्षी दलहरुले संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न सरकारलाई सुझाव दिएका थिए । जवाफमा प्रधानमन्त्रीले सबैसँग छलफल गरेर आफू सहमतिमा अघि बढ्न तयार रहेको बताउनुभएको थियो । छलफलमा सभामुख ओनसरी घर्तीसहित संसदमा प्रतिनिधित्व गर्ने सवै जसो दलका नेता सहभागी थिए ।
सो अवसरमा नेपालको संविधान कार्यान्वयनमा देखा परेका चुनौती तथा समसामयिक राजनीतिक विषय, संविधान कार्यान्वयन, स्थानीय तहको निर्वाचन, संसद्को निर्वाचनलगायतका विषयमा छलफल केन्द्रित भएको थियो ।छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, व्यवस्थापिका–संसद्का सभामुख ओनसरी घर्ती, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरूको सहभागिता थियो ।
छलफलमा सत्तारूढ दलका नेताहरूले संविधान संशोधनको प्रस्तावलाई पारित गरेर निर्वाचनमा जानका लागि आग्रह गरेकी थिइन् भने मधेसी दलका नेताहरूले यथास्थितिमा संविधान संशोधनको प्रस्तावले समस्या समाधान हुँदैन भन्दै परिमार्जनको आवश्यकता औँल्याइन् । प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी साना दलले संविधान संशोधनको प्रस्ताव सत्तारूढ दलहरूले छलफल नै नगरी ल्याएको र वर्तमान अवस्थामा संविधान संशोधन नै आवश्यक नभएको तर्क राखेका थिए ।
२० मंसिर २०७३ ।
Comments