समाचार

२२ औं दिनमा डा. केसीले अनसन ताेडे

काठमाडौं- डा. गोविन्द केसीको १० औँ पटकको अनसन टुंगिएको छ । सिन्धुपाल्चोकका साढे २ वर्षका मार्सन तामाङले जुस खुवाएपछि डा. केसीले २२ औँ दिनमा अनशन तोड्नुभएको हो । उहाँले आइतबार बिहान ११ बजे अनशन तोड्नु भएको हो । अनशन तोडेपछि डा. केसीले आफू व्यक्तिका लागि नभइ संस्थाका लागि लडेको बताउनुभयो । त्यसअघि सरकार र डाक्टर केसीका प्रतिनिधिबिच १२ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

सरकारसँगको सहमतिमा त्रिवि र प्रतिष्ठानको संरचना परिवर्तन गर्न र पदाधिकारी नियुक्तिको कानुन बनाउन १५ दिनभित्र उच्चस्तरीय समिति बनाउने, एमबिबिएसको शूल्क काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार र बिडिएसतर्फ १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ कायम गर्ने, दुर्गम र सरकारी विद्यालयमा अध्ययन गरेका विपन्नका लागि छात्रवृत्ति थप सुनिश्चित गर्ने, चिकित्साशिक्षा विधेयकमा संशोधनयोग्य विषय व्यवस्थापिका संसदबाटै सम्बोधन गर्ने लगायत छन् ।

डा. केसीको माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयले आइओएमको डिनमा वरिष्ठताका आधारमा शनिबार डा. जगदीशप्रसाद अग्रवाललाई नियुक्त गरेको थियो । शनिबार दिनभर भएको वार्तापछि राति डा. केसीको मागमा सहमति भएको हो ।