समाचार

हाकिम फेर्न क्षयरोग केन्द्रका कर्मचारीको डेलिगेशन

मन्त्री थापालाई ससुरा डा.केसीको अवरोध
काठमाडौ– एकताका नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमलाई संसारभरी चर्चाको शिखरमा पुर्याउने हाकिमको जयजयकार गरिने राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा अहिले भने वर्तमान हाकिम (निर्देशक) हटाउनकेन्द्रका कर्मचारीहरु नै विभागीय मन्त्री गुहार्न थालेका छन् ।
नौवर्षसम्म केन्द्रको निर्देशक भएर नेपालको क्षयरोग नियन्त्रण कार्यक्रमलाई चर्चामा पुर्याउने तत्कालिन निर्देशक डा.दीर्घसिंह बमको जयजयकार गरेका केन्द्रका करीव ७५ प्रतिशत कर्मचारीहरु अहिलेका निर्देशक डा.विकास लामिछानेलाई हटाउन भक्तपुर जिल्लाका नेपाली काँग्रेसकै नेताहरुलाई लिएर स्वास्थ्यमन्त्री गगन थापाकहाँ ३ पटक पुगिसकेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयको भन्सारको रुपमा कहलिएको राष्ट्रिय क्षयरोग केन्द्रमा २०७१ असोजमा सरुवा भएर आएका डा.लामिछानेले केन्द्रलाई भ्रष्टाचारको अखडा बनाएको र गलत नियत राखेर महिला कर्मचारी नियुक्ति गर्ने गरेको ती कर्मचारीहरुले आरोप लगाएका छन् । मध्यपश्चिम स्वास्थ्य निर्देशनालयको निर्देशक हुँदा चिनापर्चि भएकी सुर्खेतकी एक युवतीलाई ६५ हजाररुपैया तलव पाउनेगरि पिएको रुपमा नियुक्त गरेको, अर्की एकजना युवतीलाई नियुक्त गरि आफुसंगै विभिन्न जिल्लाका कार्यक्रमहरुमा लैजाने गरेको आरोप लगाएका छन् ।
केन्द्रलाई बदनाम गराउने निर्देशकसंग रुष्ट भएका कर्मचारीहरुले निर्देशक डा. लामिछानेले यसैवर्ष सन् २०१६ को जनवरीदेखि शुरु गरिने भनिएको टिबि प्रिभिलेन्स सर्वेका लागि भनी एकसय रुपैयाँको दरमा६० हजार थान टिसर्ट खरीद गरि ३७५ रुपैयाँको बिल बनाएर केन्द्रका लेखा प्रमुख (उपसचिव) नारायणप्रसाद दाहालसंग मिलेर भ्रष्टाचार गरेको समेत आरोप लगाएका छन् । ६० लाख रुपैया पर्ने टिसर्टको खरीदमा एक करोड ६५ लाख रकम भ्रष्टाचार गरेको कर्मचारीहरुको आरोप छ । ६० हजार थान टिसर्ट खरीद गरिएको भनिए तापनि केन्द्रको स्टोरमा टिसर्ट आधा पनि नआईसकेको तर बिलको रकम भने पुरै भुक्तानि दिईसकेको पनि आरोप लगाइएको छ ।
आफ्नो पद जोगाउन निर्देशक डा.लामिछानेले स्वास्थ्यमन्त्री गगन थापाका साँहिला ससुरा नाता पर्ने डा.केदार नर्सिङ्ग केसीलाईकेन्द्रको बजेटमा हवाईटिकट र दैनिक भ्रमणभत्ता दिँदै क्षयरोगका अन्तर्राष्ट्रिय सम्मेलनहरुमा केपटाउन, म्यानमार, लिभरपुल, बार्सिलोना र मंगोलियासमेत लगेको समेत आरोप लगाएका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रममा कार्यरत चिकित्सक र विशेषज्ञहरु सहभागी हुनुपर्ने ती सम्मेलनमा क्षयरोगभन्दा अन्यत्रै कार्यरत डा.केसीलाई पटक पटक सहभागी गराउँदै निर्देशक डा.लामिछानेले पदको दुरुपयोग गरेको आरोप लागेको हो । डा.केसीलाई गत अक्टोबर २६ देखि २९ सम्म बेलायतको लिभरपुलमा आयोजना भएको छातीरोग तथा क्षयरोगविरुद्धको अन्तराष्ट्रिय संस्थाको ४७ औं विश्व सम्मेलनमा लगिएको थियो ।
निर्देशक डा.लामिछानेले मन्त्री थापाका साँहिला ससुरा डा.केसीलाई पटकपटक विदेश घुमाउन लगेर आफ्नो हातमा लिएपछि सबैतिरबाट डा.लामिछानेको विरोध हुँदापनि मन्त्री थापाले ससुराको कुरा सुनेर डा.लामिछानेलाई निर्देशकबाट हटाउन अप्ठेरो भएको बताइएको छ । स्वास्थ्यमन्त्री गगन थापाले आफ्ना साँहिला ससुराको कुरा सुन्छन कि केन्द्रका ७५ प्रतिशत कर्मचारीको ? मन्त्री थापाको लागि यो विषय चुनौति र धर्मसंकटको विषयभएको छ ।