समाचार

प्रधानमन्त्री साझामा सरर...

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरु साझा बस चढेर सिंहदवार छिरेका छन् । साझाले ल्याएको नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड पुल्चोक पुगेका थिए । बस सेवाको उद्घाटनपछि प्रचण्ड मन्त्री र सचिवहरुसँगै साझा बस चढेर सिंहदरवार गएका हुन् ।
साझा यातायतले आइतबारबाट काठमाडौं उपत्यकाका विभिन्न चार रुटमा पुराना आठसहित ३० नयाँ गरी ३८ वटा बस सञ्चालनमा ल्याएको छ । शहरी मापदण्डका अत्याधुनिक सुविधा सम्पन्न ठूला गाडी मार्फत काठमाडौं उपत्यकाका चारवटा रुटमा यात्रुले सेवा पाउने साझाका कायम मुकायम प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए । 
बस सेवाको बिहान ९ बजे सुरुवात गरिएको हो । शहरी सवारी मापदण्ड र यात्रुको सेवालाई मध्यनजर गरी साझाले विशेष सुविधायुक्त बस सञ्चालनमा ल्याएको हो । आधुनिक सुविधा सम्पन्न साझाको बस अपाङ्गमैत्री छ, त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्ने सुविधा बसमा छ । बसभित्र दुई वटा ह्विलचेयर अट्ने ठाउँ छ ।
नयाँ बसमा चारवटा सिसिटिभी छन्, मनोरञ्जनका लागि एलइडी टिभी, मोवाइल चार्जरको व्यवस्था छ, भने अहिलेका बसमा २ क्रस ३ ‘साइड क्रोम’ सिट रहेकोमा नयाँ बसमा २ क्रस २ छन् । ४० वटा समाउने ‘स्ट्राप ह्याङ्गर’ रहेका छन् ।
यसैबीच, साझाको पहिलो रुट लगनखेल, जाउलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, एनएसी, जमल, लैनचौर, लाजिम्पाट, त्रिवि शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धारा, सामाखुसी हुँदै नयाँ बसपार्कसम्म दुईतर्फी रहेको छ ।
त्यस्तै त्रिभुवन विमानस्थल, गौशाला, रातोपुल, डिल्लीबजार, बागबजार, पुरानो बसपार्क, सहिदगेट, जमल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजु हुँदै बसपार्कसम्म दुईतर्फी अर्को रुट रहेको छ ।
कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, सिंहदरबार, शहिदगेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, कलङ्की, सीतापाइला हुँदै स्वयम्भूसम्म दुईतर्फी सञ्चालनमा हुनेछन् ।
त्यसैगरी ग्वार्को, सातदोबाटो, लगनखेल, जाउलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, गङ्गालाल अस्पताल हुँदै बुढानीलकण्ठसम्म दुईतर्फी सञ्चालन हुने साझाले जनाएको छ । साझाले उपत्यका बाहिर चार गन्तव्य गोरखा, बागलुङ, वीरगन्ज र लुम्बिनी, भैरहवामा आठवटा बसमार्फत सेवा दिँदै आएको छ । साझासँग थपिएका नयाँसहित जम्मा ४६ वटा बस रहेका छन् ।
१२ मंसिर २०७३ ।