समाचार

छुट्टाछुट्टै जीप दुर्घटनामा ९ जनाको मृत्यु

नवलपरासी– नवलपरासीको बुलिङटार— ८ बतासामा गए राति जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङटारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग १ ज ३६३२ नम्बरको जीप दुर्घटना हुदा डाँडाँझेरी छरछरेका २८ बर्षीय समन्ती बाचे, ५२ बर्षका खिमबहादुर बाचे, ४२ बर्षका लोकबहादुर बाचे, २२ बर्षका दीपक फाल, ४० बर्षकका जयबहादुर बाचे, ४९ बर्षका र रेश वहादुर बाचे र किशन बाचेको मृत्यु भएको छ ।
बुलिङटार चौकीमा गाउँको झगडा बिषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन् ।मान्छेको भीडमा जीपले ठक्कर दिदा धेरै जना घाईते भएको र मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट करिब दुईसय मिटर तल खसेको छ । पहाडी भू–भाग भएकाले दुर्घटना लगतै घाईतेहरुको उद्धार गर्न कठिनाई भएको थियो ।

आज विहान मात्र घाइतेहरुलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याईएको छ । मृतकहरुलाई पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ । एउटै गाउँका मान्छेहरु दुर्घटना परी ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको छ । मृत्यु हुने र घाइतेहुने गरी गाउँका अधिकांश घरका मान्छेहरु दुर्घटनामा परेका छन् । जीप चालक समेत गम्भीर घाईते भएका छन् ।  दुर्घटना स्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ ।

यसैबीच, डोटीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । डोटीको कफल्लेकी गाविसबाट दुलही लिएर फर्केको जन्ती बोकेको जिप शनिबार राति डोटीकै लाटामाण्डौ गाविसको वडा नं २ र ३ को सिमानामा पर्ने झाँसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा लाटामाण्डौँ गाविस–२ बस्ने ३० वर्षीय बिरी ताम्राकार र जिजौडामाण्डौ गाविस– ८ बस्ने ४५ वर्षीय गौरीशङ्कर नेपालीको मृत्यु भएको जनाइएको छ । 

१२ मंसिर २०७३ ।