समाचार

घाँसी नेपालले बनाउन थाल्यो तारेभिर विद्यालयको भवन

काठमाडौं-  विगत १६ वर्षदेखि शैक्षिक क्षेत्रमा कामगर्दै अएको घाँसी नेपालले काठमाडौंको गोकर्णेश्वर–७ वालुवामा रहेका तारेभिर प्राथमिक विद्यायालयको भवन पुनर्निमाणको काम थलोको छ । शुक्रबार एक कार्यक्रमकाबीच विद्यालयको भवन शिलन्यास गर्नुका साथै भौतिक संरचना पुनर्निर्माणको काम अघि बढाएको हो । नेपाली जनसम्पर्क समिति अमेरीकाका केन्द्रीय सदस्य हरिबोल भण्डारी, घाँसी नेपालका अध्यक्ष माधवप्रसाद घिमिरे, महासचिव शोवाकान्त पाण्डे र स्थानीय समाजसेवीले विद्यालय भवनको सँयुक्त रुपमा शिलन्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा संस्थाका अध्यक्ष घिमिरेले शैक्षिक क्षेत्रमा देखिएका समस्या निराकरणका लागि स्थानीयको महत्वपूर्ण साथ र सहयोग अपरिहार्य रहेको बताए । उनले विद्यालय निर्माणमा स्थानीयको सहयोगको अपेक्षा गरे । उनले शैक्षिक क्षेत्रको सुधारका नाममा ब्रम्हलुट गर्ने विभिन्न संस्थाहरुसँग सचेत रहन आग्रह गर्दै भने– ‘कोही–कसैले हृदयदेखि सहयोग गर्न आउँछ भने उनीहरुको काममा साथ दिनुपर्छ ।’
 
त्यस्तै, जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य भण्डारीले भने– ‘हामी संसारको जुनसुकै कुनामा रहेपनि आफ्नो मातृभूमिको विकासका लागि हामी तत्पर छौं । आफ्नो देशमा सहयोग गर्न पाउँदा खुशी लाग्छ ।’ उनले आगामी दिनमा पनि सामाजिक काममा सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी, विद्यार्थीका अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

विद्यायालय निमार्णदेखि शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको घाँसी नेपालले २०७२ साल बैशाख १२ र २९ गतेको गएको विनासकारी भूकम्पले भग्नावशेषमा परिणत भएका विद्यालयहरुको पुनर्निर्माण गर्ने अभियानलाई तिव्रता दिएको छ । घाँसी नेपालले भूकम्प प्रभावित ११ जिल्लाका ६० वटाभन्दा बढी विद्यायालयको भवन निर्माण गर्ने लक्ष्य राखेको छ । त्यस्तै, संस्थाले प्राथमिकता निर्धारण गरी अति प्रभावित विद्यालयहरुलाई पहिलो प्राथमिकतामा राखी  पुनर्निर्माणको कामलाई अघि बढाएको हो ।

संस्थाका अध्यक्ष घिमिरेले भने– ‘भूकम्पले भग्नावशेषमा परिणत भएका विद्यालयहरुको प्राथमिकता निर्धारण गरी अति प्रभावित विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर भवन पुनर्निमाणको काम अघि बढाएको हौं, विस्तारै अरु विद्यालयको भवन निर्माण गर्नुका साथै देशभर शैक्षिक क्षेत्रमा देखिएका समस्या निराकरणतर्फ हामी उन्मुख हुनेछौं ।’
 
भूकम्पले तारेभिर प्राथमिक विद्यालयको भौतिक संरचनमा पुगेको क्षतिका सो विद्यालयमा अध्यरनत विद्यार्थीहरुको पठनपाठन प्रभावित हुँदै आएको छ । अझै उक्त विद्यालयका विद्यार्थीहरुले सहज रुपमा पठनपाठनको वातावरण पाउन सकेका छैनन् ।

३ मंसिर २०७३ ।