समाचार

बङ्लादेशका राष्ट्रपतिलाई भेटे प्रधान सेनापति क्षेत्रीले

काठमाडौं– बंगलादेशको भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बङ्लादेशका राष्ट्रपति अब्दुल हमिदसँग शिष्टाचार भेटवार्ता गरेका छन्।  बङ्गलादेशको राजधानी ढाकामा बुधबार भएको उक्त भेटमा नेपाल र बङ्लादेशको द्वीपक्षीय सम्बन्ध तथा दुई देशका सेनाबीच रहेको घनिष्ट सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।

सो अवसरमा प्रधान सेनापति क्षत्रीले २०७२ साल वैशाखमा नेपालमा गएको भूकम्पको बेलामा बङ्गलादेश सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए भने राष्ट्रपति हमिदले भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका विषयमा चासो व्यक्त गरेका थिए। 

भेटघाटका अवसरमा नेपालका कार्यबाहक राजदूत धनबहादुर वली, भ्रमणदलका सदस्य, नेपाली दूतावासका सैनिक सहचारीसमेतको उपस्थिति रहेको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। प्रधान सेनापति क्षत्री बङ्गलादेशका सेना प्रमुख अबु बेलाल मुहम्मद सफिउल हकको निमन्त्रणामा बङ्गलादेश गएका हुन्।