काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरुबीच भएको छलफल मंसिर ६ गते बस्ने गरी टुंगिएको छ। बिहीबार बिहान भएको बैठकमा संविधान संशोधनबारे विषय केन्द्रीत भएर राष्ट्रिय सहमति बनाउन थप वार्ता र छलफल गरेर जाने सहमति गरेका छन्।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुबीच सतहका मुख्य राजनीतिक विषयमा सहमति खोज्ने समझदारी भएको हो। छलफलमा नेताहरुबीच प्रदेशको सीमाङ्कन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोगसम्बन्धी विषयमा छलफल भएको थियो। बैठकको जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले संविधान संशोधनका विषयमा दलीय सहमतिकै आधारमा अगाडि बढ्ने समझदारी भएको बताए।
प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमाथि दलका शीर्ष नेताहरुले सकारात्मक जवाफ दिएको र थप छलफल गर्ने गरी बैठक सकिएको उनले बताए। बैठकमा प्रधानमन्त्री दाहाल सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री बिमलेन्द्र निधि लगायतका नेताहरुको सहभागी रहेको थियो।
२ मंसिर २०७३ ।
Comments