समाचार

१० औं पटकको अनसनमा डा. केसीका ९ बुँदे माग

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले १० औं पटकको आमरण अनसन शुरु गरेका छन् ।सरकारले विगतमा आफूसँग गरेको सहमति विपरीत वरिष्ठता मिचेर चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डाक्टर केपी सिंहलाई नियुक्त गरेको भन्दै डा. केसीले अनसन शुरु गरेका हुन् । 
आइतबार अपरान्ह चार बजे शिक्षण अस्पताल महाराजगञ्ज परिषरमा अनसन शुरु गर्नुअघि पत्रकार सम्मेलन गरी प्राध्यापक डाक्टर केसीले जनप्रतिनिधिले जनताको पक्षमा भन्दा आफ्नो स्वार्थमा काम गरेकाले मुलुक दलालको चंगुलमा फँस्दै गएको आरोप लगाए । आइओएममा राजनीतिक भागवण्डामा नभई योग्यताका आधारमा नियुक्त गर्नुपर्छ भन्ने आफूले पटक पटक आवाज उठाएपनि विश्वविद्यालयले अटेर गरेको डाक्टर केसीको दाबी थियो । सिफारिस समितिले आईओएमको डिनमा पहिलो नम्बरमा डाक्टर जगदिश अग्रवाल, दोस्रो नम्बरमा डाक्टर केपी सिंह र तेस्रो नम्बरमा डाक्टर ज्योती शर्माको नाम प्रस्ताव गरेको थियो । 
डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथी लगाईएको महाअभियोलाई निष्कर्षममा पु¥याउन, त्रिवि उपकुलपति तीर्थ खनियालाई बर्खास्त, चिकित्सा शिक्षामा निर्धारण गरे अनुरुपको शुल्क कायम, आईओएमलाई पूर्ण स्वायत्त संस्था बनाउनुपर्ने लगायत विभिन्न ९ बुँदे माग अघि सारेका छन् । 

२९ कार्तिक २०७३ ।