काठमाडौ– आज हरिबोधनी अर्थात ठूलो एकादशी । हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाई ब्रत बसेका छन् । आज बिहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदैछ । घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ ।
घरमा तुलसी नरोप्नेहरु समेत छिमेकी कहाँ गएर तुलसीको पुजा गर्ने गर्दछन । अक्सिजन बढी दिने र सुगन्ध आउने बनस्पति हुनाले तुलसीलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । एकादशीको अवसरमा आज काठमाडौको बुढानिलकण्ठ मन्दिर परिसरमा भक्तजनहरुको ठूलो भीड लागेको छ। बुढानीलकण्ठ मन्दिरमा भगवान विष्णु, शिव र गणेशका छुट्टा छुट्टै मन्दिर रहेका छन ।
असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु आज निद्राबाट ब्युझिने र संसार नियाल्ने धामिर्क विस्वास छ । आज बर्तालुहरु तीर्थमा नुहाई तरुल, सकरखण्ड तथा फलफूल मात्रै खाएरु बस्ने गर्छन । खाशगरी कालीगण्डकी किनारका तीर्थस्थलहरुमा स्नान गरी भगवान बिष्णुको अबतार मानिने शालिग्रामको पूजा गरेमा पूण्य मिल्ने धामिर्क बिश्वास छ ।
आज नवलपरासी जिल्लाका विभिन्न ठाउँहरुमा लागेको एकादशी मेलामा विहानै बाट मानिसहरुको भिड लागेको छ । प्रचारप्रसारको अभावमा आझेलमा परेको मुकुन्दपुरको शिख्रौली,नारायणी नदी किनार गैडाकोट,दिव्यपुरी ,पिठौली लगायतका ठाउँहरुमा तोरन टाँग्ने र भजन किर्तन गरि रमाउनेहरुको संख्या बढ्दै गएको छ । नजिकै नारायणी नदी रहेको र त्यसमा नुहाउदै पुजा गर्नेको भीड पनि निकै बाक्लो छ ।
२६ कार्तिक २०७३ ।
Comments