समाचार

फेरि एटिएमबाट अवैधरुपमा पैसा झिक्ने दुई जना पक्राउ

काठमाडौं– अवैधरुपमा एटिएमबाट अरुको पैसा चोर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरीले एटिएम प्रयोगकर्ताहरुलाई सचेत रहन आग्रह गरेको छ ।  तीन जना बुल्गेरियाली नागरिक पक्राउ परेको हप्ता दिन वित्न नपाउँदै विहीबार फेरि दुई विदेशी नागरिकलाई करिब २७ लाख नेपाली नेपाली रुपैयाँ सहित केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार टर्कीका मुहरम अजन र सल्लहटिन यवरलाई २६ लाख ७५ हजार नेपाली रुपैँयासहित कान्तिपथको एलो प्यागोडा होटेलबाट पक्राऊ गरेको हो। उनीहरुको साथबाट १ हजार ७ सय युरा र १ हजार ६ सय अमेरिकी डलर पनि बरामद भएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

युरोपबाट विभिन्न बैंकका एटिएम कार्ड र पिन नम्बर बोकेर नेपाल पसेका ती दुई व्यक्तिको साथबाट १ सय १३ ओटा एटिएम कार्ड पनि बरामद गरिएको छ।  उनीहरु नेपाली एटिएमबाट रकम झिकेर डलर सटही गरी फर्किने योजनामा रहेको जनाइएको छ। दुवै व्यक्ति गत नोभेम्बर ७ मा नेपाल आएका थिए र नोभेम्बर १२ मा फर्किँदै थिए।

उनीहरु मे महिनादेखि हालसम्म तीन पटक नेपाल आइसकेको अनुसन्धानबाट खुल्न आएको छ। उनीहरुको साथमा रहेको रकम कान्तिपथकै नबिल बैंकको एटिएमबाट झिकेको जनाइएको छ। यसरी एटीएम ह्याकरहरले अवैध रुपमा पैसा झिक्न थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकको एटिएम प्रयोगकर्ताहरुलाई तत्कालै आफ्नो पिन नम्बर परिवर्तन गर्न अनुरोध गरेको छ ।

अर्काको एटिएम पिन नम्बर चोरी गरेर अनाधिकृत रुपमा पैसा चोर्ने गिरोह सक्रिय भएको भन्दै ब्यूरोले केही दिन अघि पत्रकार सम्मेलन गरेर एटिएम पिन नम्बर तत्कालै परिवर्तन गर्न आग्रह गरेको थियो । ब्यूरो प्रमुख डिआइजी नवराज सिलवालले अर्काको एटिएमबाट डाटा चोरेर अनधिकृत रुपमा पैसा चोरी गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको बताउनुभयो । अवैधरुपमा एटीएमबाट पैसा झिक्ने गिरोहहरुले दरवारमार्ग, ठमेल, वसन्तपुरलगायतका पर्यटकीय क्षेत्र र आसपास रहेका एटिएमबाट पैसा निकाल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

२५ कार्तिक २०७३ ।