समाचार

बेलायतीलाई नेपाल घुम्न पर्यटनमन्त्रीको आग्रह

प्राकृतिक सौन्दर्यको बेलायतमा वर्णन
काठमाडौं– बेलायतको लण्डनमा ३७ औं वर्ल्ड ट्राभल मार्केट (डब्लुटिएम) सम्पन्न भएको छ। नोभेम्बर ७ देखि ९ सम्म चलेको ट्राभल मार्केटमा नेपालबाट नेपाल पर्यटन बोर्डसहित होटल र ट्रेकिङ क्षेत्रका कम्पनीहरुको सहभागिता रहेको थियो। नेपालबाट सहभागिता जनाउने संस्थाहरुले बेलायती पर्यटकलाई नेपाल जान उत्प्रेरित गरेका थिए।

विश्वका करिब ५० हजार पर्यटन र ट्राभल व्यवसायीहरु कार्यक्रममा सहभागी भएका थिए। सो कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले नेपालको प्राकृतिक सौन्दर्यता वर्णन गर्दै सबैलाई नेपाल घुम्न जान आग्रह गरे।

‘नेपाल घुम्नको लागि सुरक्षित छ। विदेशीहरुलाई नेपालबारे जानकारी दिन सकियो भने नेपाल घुम्न आउने पर्यटकहरुको संख्या अवश्य बढ्छ’, नेपालखबरसँग कुराकानी गर्दै मन्त्री शाहीले भने, ‘भूकम्प र नाकाबन्दीले विश्वमा नेपालप्रति नकारात्मक सन्देश प्रवाह गरिरहँदा नेपालले डब्लुटिएममार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश गएको छ। हामी सबै मिलेर नेपालबारे थाहा दिनुपर्छ ।’

यस्तै बेलायत–नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष गाँठको अवसरमा बेलायतस्थित नेपाली दूतावासले मंगलबार साँझ ‘वेष्ट भ्यालु डेस्टिनेशन नेपाल’ नामक पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको थियो। बेलायती पर्यटकलाई नेपाल जान उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विदेशीहरुको समेत राम्रो उपस्थिति थियो। कार्यक्रममा मन्त्री शाहीको पनि उपस्थिति थियो। 
कार्यक्रममा बोल्दै राजदूत दुर्गाबहादुर सुवेदी र उपनियोग प्रमुख शरदराज आरणले एकपटक नेपाल घुम्न जान सबैलाई आग्रह गरे। कार्यक्रममा लोन्ली प्लानेटका जोसेफ र बोर्डका विमल कंडेलले नेपालसम्वन्धी वृत्तचित्र प्रदर्शन गरेका थिए। नेपाली प्रतिनिधिमण्डल नोभेम्बर १० मा बेलायतको म्यानचेष्टर र १४ नोभेम्बरमा न्यू क्यासलमा हुने कार्यक्रममा समेत सहभागी हुनेछन्।