काठमाडौं– किराँत महागुरु फाल्गुनन्दको जन्म जयन्तिका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । किराँत धर्म मान्ने किराँताहरुले फाल्गुनन्दको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरेका हुन् । आफ्नो जीवनको अन्तिम समयसम्म किराँत धर्म, संस्कार र संस्कृतिको उत्थानमा लागेका फाल्गुनन्द किराँत धर्मावलम्बीहरुका पूज्य पात्र हुन्।
फाल्गुनन्दको जन्म बिक्रम सम्बत १९४२ साल कार्तिक २५ गते इलामको इभाङमा भएको थियो। आमा(बुबाका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानको नाम नरध्वज लिङदेन हो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाइदिनाले ठीक हुन्छ भनेकाले उनका हातमा फलामका चुरा लगाइएको थियो। त्यही चुराबाट उनको नाम फलामसिंह रहन गएको थियो। उनी बेलायती फौजमा भर्तीमा जाँदा उनको नाम फलामसिंबाट फाल्गुनन्द बनेको किराँत इतिहाँस पढ्न पाइन्छ।
किराँत धर्मको संरक्षण र उत्थानमा लागेका फाल्गुनन्दलाई देशद्रोहीको अभियोगसमेत लागेको थियो। उनको २००५ सालमा निधन भएको थियो। किराँत संघसंस्थाहरुले हरेक वर्ष कात्तिक २५ गते उनको जन्मजयन्ती मनाउँदै आएका छन् ।
२५ कार्तिक २०७३ ।
Comments