समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन

काठमाडौं- आज छठ पर्वको अन्तिम दिन, श्रद्धालु भक्तजनले उदाउँदो सूर्यको पूजा आरधनासहित अघ्र्य दिएका छन् । तराईका साथै काठमाडौंमा रहेका तराइबासीले ताल, पोखर, जलासयमा गएर उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा आरधना गरेका हुन् । निराहार ३६ घण्टे ब्रत लिई साँझ पोखरी, तलाउ र नदीमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरी आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँग छठ पर्व विधिवतरुपमा सम्पन्न भएको हो । 

शुद्ध मनले छठी माताको व्रत बसेमा चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ । छठलाई मध्यनझर राख्दै काठमाडौंको कमल पोखरी, गुह्यश्वरी लगायत विभिन्न नदी किनारमा सफासुग्घर पारिनुका साथै सिंजाइएका थिए । छठमा प्रसादका लागि ठकुवा, भुस्वा आदि परिकार सफा र शुद्ध गरी पकाइन्छन् । साथै, नरिवल, भोगटे, स्याउ, ऊखु, मुला, बेसार, अदुवा, सखरखन्डसहित विभिन्न प्रकारका सामग्री पनि प्रसादका रूपमा प्रयोग गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ दिई राति भक्तजन जलासय किनारमै छठी माताको पूजाआराधना गरी गीत गाउँदै जाग्राम बस्ने गर्दछन् । विहान उदाउँदो सूर्यलाई अघ्र्य दिइपछि ब्रतालुलगायतले प्रसाद ग्रहण गर्ने गर्दछन् ।
यसैबीच, तराईका विभिन्न पोखरी, नदी तथा जलाशयमा पनि छठ धुमधामकासाथ समापन गरिएको छ ।  छठको सुरुवातसँगै तराईका पोखरी, नदी र जलाशय बेहुलीझैं सिंगारिएका थिए ।  व्रतालु र भक्तजनको चहल–पहलले जताततै भीड भएको थियो । पर्वकै अवसरमा मिथिला नगरी जनकपुर संगीतमय बनेको थियो। जनकपुरको गंगासागर, धनुषसागर, अरगजा पोखरी, दशरथ तलाउ, गोरधोई पोखरी, दूधमती नदीमा छठको मेला भर्नेको भीड लागेको थियो । त्यस्तै, वीरगंजका विभिन्न पोखरी तथा नदीमा पनि भक्तजनको भीड लागेको थियो  । खासगरी वीरगंजको प्रसिद्ध घरिअर्वा पोखरी, रानीघाट, नगवा पोखरी, छपकैया पोखरीमा भक्तजनको उल्लेख्य भीड लागेको थियो ।
२२ कार्तिक २०७३ ।