समाचार

भूकम्प गएको १८ महिना वित्यो, भौतिक संरचना टेकोकै भरमा

काठमाडौं– भूकम्प गएको १८ महिना बितिसक्दा पनि काठमाडौं उपत्यका लगायत भूकम्प प्रभावित जिल्लाका अधिकांश भौतिक संरचना टेकोका भरमा उभ्याइएका छन् । लतिलपुरका घरहर टेकोकै भरमा उभिएका छन् भने भक्तपुरको चाँगनारायण मन्दिर टेकोकै भरमा राखिएको छ। त्यस्तै अन्य मठ मन्दिर तथा पाटी पौवाको अवस्था पनि यो भन्दा विकराल छ । २०७२ साल वैशाख १२ गतेको विनासकारी  भूकम्पमा परी  क्षतिग्रस्त बनेका भौतिक संरचना समयमै पुनर्निमाण हुन नसक्दा अझै पनि पनि टेकोकै भरमा ठडिएका छन् । 

विश्व सम्पदा सूचीमा सुचीकृत मन्दिरमा हरेक दिन हजारौंँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन्। सरकारले मन्दिर पुननिर्माणका लागि समयमै चासो नदेखाउँदा हजारौं पर्यटक र भक्तजन जोखिम मोलेरै मन्दिरमा पुग्ने गरेका छन्। चारैतिरबाट टेको लगाएर अड्याइएको चाँगुनारायणको मुल मन्दिरको पुनर्निमाणका लागि पुरातत्व विभागले समयमै टेन्डर आव्हान नगर्दा मन्दिरको पुनर्निमाणमा ढिलाई भएको हो। 
मन्दिर व्यवस्थापनका अनुसार मन्दिरको जग बलियो भएपनि माथिल्लो भाग झर्ने अवस्थामा पुगेको छ। चारैतिरबाट टेको लगाएर अड्याएको मन्दिरको दैनिक पूजा मन्दिर भित्रै भएपनि भित्ता चिरा परेको छ। भुकम्पअघि नै मन्दिरको उत्तर पश्चिमपट्टि गएको पहिरोका कारण मन्दिरको जग ढल्किएको र सिँढी भाँसिएको थियो।