काठमाडौं- छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरिने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रही आएको पाइन्छ ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बसेका ब्रतालुहरुले दोस्रो दिन शनिबार सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई खराना गरे । यो पर्वको मुख्य दिन कार्तिक आज कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने गरिन्छ । आज रातभर जागा बसी भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।
यसैबीच, छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । आज बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्नुहुने भएको छ । यसैबीच, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शार्मा ओली लगायत राजनीतिक दलका नेताहरुले छठको शुभकामना दिनुभएको छ ।
२१ कार्तिक २०७३ ।
Comments