समाचार

मिथिलाञ्चलमा केराको व्यापार फस्टायो

जनकपुर– विगतका वर्षभन्दा महंगो भएपनि छठको पूर्वसन्ध्यामा जनकपुरमा केराको ब्यापार फस्टाएको छ । जनकपुरसहित मध्य तथा पूर्वी मधेशका जिल्लाहरुको केराको ब्यापार फस्टाएको छ । छठ पर्वमा प्रत्येक व्रतालुले अर्घ दिदा प्रसादको रुपमा केला राख्ने गरेका छन् । दुइदेखि तीनसय रुपैयासम्ममा पर्ने केलाको मूल्य यसवर्ष पाँचसयदेखि सातसय तिर्नुपरेको उपभोत्तलाहरु बताउँछन् । 
पूर्वी नेपालमा उत्पादन हुने केराले मात्रै छठको बजार धान्न नसक्ने भएकाले मागको ६० प्रतिशतभन्दा बढी केरा भारतबाट आयात गने गरिएको व्यवसायीको भनाई छ । भन्सार, ढुवानी खर्च समेत गरी पूर्वी नेपालको केलाभन्दा भारतबाट आयातित केलाको मूल्य बढी पर्न गएको ब्यापारीहरु बताउँछन् । अन्य फलफूलको ब्यापार भने न्यून देखिएको छ । 
जनकपुरमा मात्रै १२ हजारभन्दा बढी घरपरिवारले जनकपुरको प्रत्येक घाटमा गरेर छठ पर्व मनाउँदै आएका छन् । गत् वर्ष छठलाई लिएर ३२ ट्रक केला आयात गरिएपनि यसवर्ष कुल ५१ ट्रक केला मँगाउनुपरेको ब्यवसायिहरु बताउँछन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गरी बजार मूल्य नियन्त्रण गर्न नसक्दा वर्षेनी उपभोक्तामाथि फलफूलसहित अन्य तरकारी मूल्य थपिदै आएको छ । 

२१ कार्तिक २०७३ ।