समाचार

फेसबुकमा भेटेका साथीहरुको संस्कृति मोह र मेरो बुझाई

केके मानन्धर

कार्यक्रम दिउँसो १ बजे भनिएको थियो । अचानक मुसलधारे पानी परेर ३ घण्टा पछि मात्र शुरु भयो पूर्व निर्धारित कार्यक्रम असोज ८ गते शनिबार । काठमाडौंको इतुंबहालमा आयोजित कार्यक्रम अरु भन्दा बिल्कुलै फरक थियो । नेपालको लुम्बिनी क्षेत्रबाट शुरु भएको करिव २५ सय वर्ष पुरानो सभ्यता अनि सोही सभ्यताको आधार र सम्पन्नताको प्रतीक बनेको, पकवान विषयमा केन्द्रीत थियो कार्यक्रम । विशेषतः फेसबुक सञ्जालबाट साथी बनेका युवाहरुले गैरसरकारी संस्था नै दर्ता गरि “झ्वः भ्वय्” अर्थात सुकुल भोज आयोजना गरिएको थियो । कार्यक्रममा इच्छुकलाई आमन्त्रण गरी भोज मात्र खुवाउने कार्यक्रम थिएन बरु सोही विषयमा विभिन्न कोणबाट विश्लेषण गर्दै महत्व र विशेषता विषयमा जानकारी गराइएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका युवाहरुले नेवाः पुचः र एच.आई.एच. ह्याण्ड टु ह्याण्ड नामक संस्था बनाएर कार्यक्रम गरेको थियो । लाग्थ्यो अधिकांश युवाहरु ३० वर्ष मुनिका महिला तथा पुरुषहरु, त्यसमा पनि टीन एजर बढी । युवाहरुको बाहुल्यता रहेको समूहले नेपाली संस्कृति, परम्परा अनि रितिथितिलाई संरक्षण, सम्बद्र्धनमा चासो दिएर लागि परेको देख्दा लाग्थ्यो लोप हुन तम्तयार हुँदै गरेको संस्कृति पुस्तान्तरण हुने पक्का भयो । कम्प्युटर, मोबाइल, आईप्याड देखि अन्य नयाँ प्रविधिमा झुमिएका समाज संरचनाको चासोबाट तुलनात्मक टाढा बसेको भान हुने युवाहरुले सभ्यताको आधार जोगाउन लागि होमिएको देख्दा लाग्थ्यो मेरो संस्कृति अब लोप हुने छैन, अनन्त काल सम्म अस्तित्वमा रहने भयो । हुन पनि नयाँ पुस्तालाई नेपाली संस्कृति, संस्कार र परम्पराप्रतिको मोह कम हुँदै गएको वास्तविकता हो । हाम्रो यहि तीतो वास्तविकतालाई चुनौती दिँदै ती युवाहरुले आयोजना गरेको सो कार्यक्रमको मूल्यांकन मेरो नजरमा कोशेढुङ्गा सावित भन्यो, संस्कृति संरक्षणको लागि ।

कार्यक्रमको आयोजक नेवाः पुचः भनिएता पनि बाहुन, क्षेत्री, तामाङलगायतका स्वयंसेवीहरु अझ बढी लगाव राखी यताउता दौडिरहेको देख्दा लाथ्यो, समावेशीताको यो भन्दा अब्बल उदाहरण अरु हुनै सक्दैन । कार्यक्रम सफल गर्न दिलोज्यान दिएर युवाहरु लागि परेको देख्दा लाग्थ्यो अब केहि हुन्छ, संस्कृतिको क्षेत्रमा । संविधान, विभिन्न संघसंस्था देखि हरेक क्षेत्रमा समावेशीताको आवाज बुलन्द भइरहँदा युवाहरुको सुकुल भोज कार्यक्रम अन्जानवश पूर्ण समोवशी हुँदै थियो । कार्यक्रममा विदेशीहरु पनि सहभागी भएको देख्दा त म अझ दंग थिएँ कि मेरो संस्कृतिको ईकाइ बनेको सुकुल भोज उनीहरुले पनि थाहाँ पाउने भए, स्वाद चाख्ने पाउने भए । वैज्ञानिक आधारले पनि पूर्ण पौष्टिक आहारयुक्त बनेको मौलिक महत्व बोकेको भोजले पाहुनालाई सन्तुष्टि बनाएको थियो । सुकुल बिछ्याएको ठाउँमा लस्करै बसेका पाहुनालाई नेवार भेषभुषामा सजिएका भाइबहिनीहरुले चिउरा, मासु, विभिन्न परिकारका गेडागुडी देखि सम्पूर्ण मिष्ठान भोजन खुवाउँदा अधिकांश दंग देखिन्थे । कोही त प्यालामा फिँज देखिने रक्सी पिउन पाउँदा घर फर्किदा मापसे चेकजाँच नै बिर्सिसकेका थिए । सोही क्रममा मसँगै बसेका आत्मिय दाजु÷सहकर्मी सुरेन्द्र मानन्धर भने डल्लू पुग्नु पर्ने भन्दै प्यालातिर फर्किसकेको अन्तीको धारालाई अस्वीकार गर्दै थिए । खैर, कोही चिउरा चपाउँदै गफिँदै थिए कोही भोजसँगै हाँसोको धाराप्रवाह छोडिँदै । आ–आफ्नो माहौल तताउँदै मौलिक भोजको स्वादमा झुमिन पाउँदा त्रिपाल मुनी लस्करै पलेटी कसेर भोज खान तम्सिएकाहरु मलीन मुस्कानका साथ प्रस्तुत थिए । मेरो ठिक अगाडी बसेका पाहुना भने मोबाइल निकाल्दै सेल्फी खिच्दै गरेको देखेँ, उनीसँगै भोज खाँदै फोटो पोज दिइरहेको पनि कम्ती रोमाञ्चक थिएन । साँचिकै साँझको परिदृश्य हेर्न लायकको थियो ।

केहि बेर अघि सम्म औपचारिक कार्यक्रम र सुकुल भोज तयारीको लागि युवाहरु स्कूटरमा पोडिएम ओसारिरहेका थिए । कोही हिँडेरै भोजको जोरजामतिर लम्किएका थिए भने कोही काम बाँडफाँडको निर्देशन दिँदै । औपचारिक कार्यक्रमको लागि तल्लीन भएका उनीहरु पानीले निथ्रुक्क भिजाएको मेज पुछ्दै, पाल टाँग्दै अन्य आवश्यक तयारी गरिरहेका थिए । संस्कृति संरक्षणको लागि समर्पित भएर विना स्वार्थ आ–आफ्नो शैलीमा व्यस्त भएको देख्दा मेरो मन भित्रै देखि प्रफुल्लित थियो ।  

कार्यक्रम मैले सोचेको भन्दा पनि पृथक रहयो । साधारण तयारी, कम्ती संख्याको सहभागिता र जेनतेन सम्पन्न हुने कार्यक्रमको मेरो सोचाइलाई युवाहरुको टोलीले उल्टो साबित गरिदियो जब माहौल भयंकर बनिदियो । तामझामसाथ प्रस्तुत भएका उनीहरु र उनीहरुलाई साथ दिइरहेका हामीहरुको जमातले साँचै भव्य बनेको थियो, कार्यक्रम । अझ सभ्य र भव्य भन्नुको अत्युक्ती नहोला, कि सभ्यताको प्रतीक मौलिक महत्वको भोज र भयंकर तयारीका साथ आयोजित फरक कोणको विश्लेषणसहितको आतित्थ्य सत्कार । भाइबहिनीहरुको जोश, जाँगर र लगाव निरन्तर रहने हो भने अवश्य पनि केहि हुन्छ, मेरो मनले भन्यो । संस्कृति मात्र होइन सम्पूर्ण सामाजिक उत्तरदायि अबयब र सम्बद्र्धनको क्षेत्रमा केहि हुन्छ । बस् साथ र सहयोगको जरुरी छ ।

कार्यक्रममा निम्त्याएका पाहुना पनि उस्तै भन्दै थिए, माइक अगाडी । नेवाः पुचः, एच.आई.एच. अगाडी बढ्नु पर्छ, सबैले साथ दिनुपर्छ । युवाहरुलाई संस्कृतिको वैज्ञानिक आधारसहितको जानकारी दिनु सबसे बढी प्रभावकारी र उत्तम हुनेछ जब कि उनीहरु पश्चिमा संस्कृतिप्रति बढी मोह राख्छन् । विशेषतः पश्चिमा संस्कृतिलाई अन्जानवश अंगालीरहेका उनीहरुलाई हाम्रो आफ्नै विषयमा बुझाउन सक्नु सबभन्दा बढी उपलब्धि पनि हो । हो यहि उपलब्धि आंशिक रुपमा हासिल भएको महशूस गरेँ मैले त्यो दिन ।
कार्यक्रममा आर्थिक, सामाजिक, वैज्ञानिक, धार्मिकलगायतका फरक कोणबाट सुकुल भोजको विशेषता र महत्व विषयमा छलफल गरिएको थियो । नेवार क्षेत्रका अगुवा, भाषासेवी, संचारकर्मी, संस्थाका सल्लाहकार देखि समाजसेवीलाई वक्ताको रुपमा निमन्त्रणा गरिएको कार्यक्रममा औपचारिकता कम र व्यवहारिकता बढी देखिएको थियो ।

कार्यक्रम विशेष बनेको थियो त्यो बेला । मौलिक भोज तथा सोही विषयलाई फरक कोणबाट महत्व र तौर तरिका विषयमा आयोजक समितिका महासचिव पवन डंगोलले कार्यपत्र नै प्रस्तुत गर्न भ्याए । घण्टौं सम्मको वर्षात थामिएपछि सफा बनेको मौसमकाबीच आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार सुनिता राजभण्डारीले पनि मौलिक भोजको महत्वको विषयमा लिखित प्रतिवेदन पेश गरे । उहाँसँगै कार्यक्रम सञ्चालक तिजेन महर्जन न अझ हाम्रो मौलिकता र भोजको तारतम्य विषयमा प्रत्याउन प्रयासरत देखिन्थे ।

अर्का वक्ता नेवाः बस्ती नेवाः स्कूल अभियन्ता दिपक तुलाधरले “नेवार बिग्रियो भोजले” भन्ने भनाईलाई खण्डन गरी त्यसको ठिक उल्टो, भोजले नेवार सप्रिएको दाबी गर्दैथिए । हुन पनि अतिले क्षति हुने पक्का हो । भोज मात्र नभएर जुनसुकै अति भए क्षति हुने सम्भवप्राःय छ । हुन सक्छ नेवारले भोजमा लगाम दिन नसकेर यो भनाई चलेको । कार्यक्रममा प्रमूख वक्ता डा. महेशमान श्रेष्ठले भाषा सम्बन्धिको अभिव्यक्ति दिन भ्याए । सुकुल भोजसँग परम्परा, भाषा, रितिथिति सम्बन्धित भएर पनि यी अबयबसँगै दोहो¥याउनुपर्नेमा उहाँले जोड थियो । भोजको मौलिकता विषयमा प्रष्ट पार्दै सम्पन्नताको प्रतीक सुकुल भोज संरक्षण गर्ने अभियानमा युवाहरु लागेकोप्रति धन्यवाद दिँदै शुभकामना पनि दिए ।

कार्यक्रम यति मात्रमा सीमित थिएन, बरु युवाहरु कै संलग्नता भएको मौलिक बाजाको समिश्रणसहितको व्याण्डले पाहुनाहरुलाई मनोरञ्जन दिइरहेको थियो । एकातिर भोजमा व्यस्त पाहुनाहरु अर्कोतिर स्थानिय लोकगीतको बोलमा गुञ्जिएको संगीत । गीतसंगीतको तरंगसँगै मन्त्रमुग्घ बने अधिकांश । शनिबारको त्यो युवाहरुको कार्यक्रम सम्झन लायकको थियो र प्रतिफलयुक्त पनि । महिनौं सम्मको मिहिनेत, ठाउँ ठाउँमा प्रचारप्रसार गर्दै आयोजित त्यो ईभेन्ट, उपलब्धिमुलक रहयो र भन्न मन लाग्यो आहा....