समाचार

सुपथ मुल्यका नाममा छुट कि लुट ? सरकारकै सुपथ मूल्य पसलमा कम तौलका सामान

काठमाडौं– चाडपर्वलाई लक्षित गरी सरकारले अनुगमनको काम तीव्र गर्नुका साथै सुपथ मूल्य पसल सञ्चालनमा ल्याए पनि उपभोक्ताले भने छुट भन्दा पनि लुट बढी हुन थालेको  गुनासो गरेका छन् । चाडबाडको मौका छोपी अखाद्य वस्तु विक्री हुन थालेको जनगुनासो एकातिर बढेको छ भने अर्कोतिर कालोबजारी गर्ने कसैले पनि उन्मिुक्ति नपाउने भन्दै सरकारले अनुगमनलाई थप प्रभावकारी बनाउँदै लगेको छ । 
यसैबीच,  अनुगमन टोलीले सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले संचालन गरेको सुपथ मुल्य पसलमा चिनीको विक्रीमा घोटाला भएको भेटाएपछि विक्री वितरणमा रोक लगाएको छ । सरकारी अनुगमन टोलीले साल्ट ट्रेडिङले तौल घटाएर उपभोक्तालाई ठगेको फेला परेपछि चिनीको  विक्रीमा रोक लगाएको हो । 
 
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले बुधबार जावलाखेलस्थित साल्ट ट्रेडिङको पसलको अनुगमन गर्दा चिनीका प्याकेटमा तौल कम रहेको फेला परेको छ । अनुगमन टोलीले २० वटा प्याकेट जोख्दा १७ वटामा तौल कम रहेको फेला प¥यो । साल्ट ट्रेडिङले उपभोक्ताहरुलाई तयारी अवस्थामा रहेका चिनीका प्याकेट जोख्दै नजोखी विक्री गर्दै आएको छ । विभागका संरक्षण अधिकृत विष्णुप्रसाद सुवेदीले २ केजीका सबैजसो प्याकेटमा २५ देखि ३० ग्रामका दरले तौल कम रहेका कारण चिनी विक्रि नगर्न निर्देशन दिएको बताउनुभयो । विभागको अनुगमनका क्रममा तौल कम भएको फेला परेपछि ३ घण्टासम्म लाइन बसेर खरिद् गरेका उपभोक्ताले चिनी फिर्ता गरे भने कतिपय उपभोक्ता खरिद् नै नगरी फर्किएका थिए । 
 
सरकारी निर्णय अनुसार साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौ उपत्यकाका विभिन्न ११ वटा स्थानमा असोज १ गतेदेखि सुपथ मुल्यका पसल संचालन गरिरहेको छ । सरकारी टोलीले बजार अनुगमनका क्रममा उत्पादकको नाम र उत्पादनको मिति उल्लेख नगरिएको भन्दै जावलाखेलको विग मार्ट, राम स्टोर लगायतका पसलबाट पिठो, मसलाका धुलो लगायतका सामान जफत गरेकामा साल्ट ट्रेडिङको पसलमा पनि मिति उल्लेख नभएका सामान फेला परेका छन् । 
 
दाल, चामल लगायतका उपभोग्य वस्तुका प्याकेट र चामलका बोरामा उत्पादकको नाम र उत्पादनको मिति उल्लेख नगरेको फेला परेपछि अनुगमन टोलीले ती सामान पनि विक्रि नगर्न निर्देशन दिएको छ । यद्यपि, अनुगमन टोलीले साल्ट ट्रेडिङको पसलमा कैफियत भेटिएका सामान निजी पसलमा जसरी जफत भने गरेको थिएन । 

अनुगमनमा कडाइ

आपूर्ति मन्त्रालयले बजार अनुगमनलाई प्रभावकारी बनाउन र उपभोग्य वस्तुको मूल्यमा देखिएको कालोबजारी रोक्न थप ५ टोली बनाएर बजारमा पठाएको छ ।  विहीबारबाट टोलीले अनुगमन तीब्र पार्ने भएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको गुनासो बढ्न थालेपछि मन्त्रालयले ५ नयाँ टोली बनाएर बजारमा पठाएको हो ।
दैनिक उपभोग्य वस्तुको मूल्य अस्वभाविक रुपमा बढेको छ, मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले भने, ‘कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्न र बजार सहज बनाउन नयाँ टोली खडा गरेर बजारमा पठाइएको हो ।’ चार्डपर्वको मौका छोपी व्यापारीले दाल, चामल, खानेतेललगायत खाद्य वस्तुको मूल्य ३० देखि ४० प्रतिशतसम्म बढाएको जनगुनासो बढेपछि सरकारले नयाँ अनुगमन टोली खडा गरेर बजारमा पठाएको हो ।

६ असाेज, २०७३ ।