समाचार

मंगलबार ऋषिपञ्चमी, सप्तर्षिको पूजा अर्चना

काठमाडौं–  वैदिक सनातन हिन्दू नारीहरुले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व आज सप्तर्षिको पूजा गरी मनाउँदैछन् ।  यस दिन बिहानै उठेर नारीहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् । रजस्वलाका समयमा छाइछुइ लगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । 

यसरी स्नान गरेपछि दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको दिनलाई ‘ऋषिपञ्चमी’ भन्ने गरिएको हो । 

रजस्वला भएका बेलामा छोइछाइ गर्दा महिलाका शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउँछ । कीटाणुले महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धती सहित सप्तर्षिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास छ । 

आज स्नान गरी ऋषिपञ्चमीको पूजा लगाएपछि नरोपी उम्रेका अन्न सामाको धान (खनजोत नगरी जङ्गलमा उम्रने), कागुनो, कन्दमूल र कर्कला आदि एक छाक खाई हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँ टेकुको ऋषेश्वर मन्दिर लगायत मुलुकभरका ऋषि मन्दिरमा पूजाअर्चनाका लागि श्रद्धालु महिला भक्तजनको भिड लाग्छ । 

ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तर्षिको पूजा लगाएपछि तीज समाप्त हुन्छ । भाद्र शुक्ल तृतीयाका दिन शिव र पार्वती, चौथीका दिन गणेशको पूजा तथा तेस्रो दिन विद्या र वेद मन्त्रका द्रष्टा ऋषिको पूजा गरेपछि महिलाको प्रमुख चाड तीज समाप्त हुन्छ ।
२१ भदाै, २०७३ ।