काठमाडौं– बजार अनुगमनको क्रममा बरामद गरिएको करिब तीन करोड रुपैयाँ बराबरका अखाद्य सामान नष्ट गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा उक्त अखाद्य वस्तु आइतबार नष्ट गरिएको हो।
म्याद ग्रुजिएका, लेभल उल्लेख नभएका, उपभोग गर्न नमिल्ने एक लाख ३१ हजार आइटमका खाद्य सामाग्री आइतबार दिउँसो आपूर्ति मन्त्री दीपक बोहोराको उपस्थितिमा बल्खुस्थित सुन्दरीघाटमा नष्ट गरिएको हो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले उपभोक्तासँग खेलवाड गर्ने व्यापारी÷ व्यावसायीहरुलाई कारबाही गर्न र बजारबाट अखाद्य सामान जफत गरी जलाउन निर्देशन दिएका थिए । त्यसलगत्तै आपूर्ति मन्त्रालयले साउन ३१ गतेदेखि भदौ १७ गतेसम्म बजार अनुगमनका क्रममा अखाद्य सामाग्री जफत गरेको थियो ।
सरकारी अनुगमन टोलीले बजारबाट म्याद ग्रुजिएका र लेभल उल्लेख नभएका दाल, चामल, चिउरा, ड्राइ फुड्स, औषधि, पानी लगायत सामान जफत गरेको थियो । अनुगमनमा आपूर्ति व्यवस्थापन विभाग, नापतौल विभाग, खाद्य विभाग, उपभोक्तावादी विभिन्न संघसंस्था लगायतको सहभागिता थियो । संयुक्त बजार अनुगमन भदौ १७ गतेसम्म चलेको थियो ।
अनुगमन टोलीले भाटभटेनी, सेलवेज, विगमार्ट, मेघामार्ट लगायतका डिपार्टमेन्ट स्टोरका केही शाखाहरुमा सिलबन्दीसमेत गरेको थियो । सबैभन्दा धेरै मेघामार्टबाट २४ लाख मूल्य बराबरको अखाद्य सामान बरामद भएको थियो । यसैगरी सेलवेजबाट २१ लाख बराबरको र युनाइटेड डिस्ट्रीव्यूटर प्रालिबाट २२ लाख मूल्य बराबरका ५ हजार ५ सय सिसि हर्लिक्स बरामद गरेर नष्ट गरिएको छ । कार्यक्रममा ३०१ वटा यात्रुबाहक गाडी अनुगमन गर्दा १५ वटाले बढी भाडा लिएको पाइएको र तिनीहरुलाई ५ हजार रुपैयाँ जरिवाना गरेको जानकारी दिइएको छ ।
Comments