काठमाडौं– पशुपति क्षेत्र विकास कोषले तीज पर्वमा पशुपतिनाथ मन्दिर प्रवेशका लागि यस वितरण गरिदै आएको प्रवेश पासको व्यवस्था हटाएको छ । कोषले शुक्रबार पत्रकार सम्मेलन गरी विगतका वर्षमा पासको दुरुपयोग भएको भन्दै यो पटकको तीजमा पासको व्यवस्था हटाएको जनाएको हो ।
कोषले अघिल्ला वर्षहरुमा विभिन्न संस्था, कोषका कर्मचारीका आफन्तजन, नेताका परिवारजन, स्वयंसेवक लगायतलाई करिब पाँच हजार पास बाँड्ने गरेको थियो। कोषका सदस्यसचिव गोविन्द टण्डनले एउटा पास देखाएर १० जनासम्म छिर्ने विगतको अभ्यास रोक्न यो पटक पासको व्यवस्था हटाइएको बताए।
कोषले यसपटक पशुपतिनाथ मन्दिर भित्रको क्षेत्रमा सुरक्षाकर्मी र आफ्ना कर्मचारी मात्र खटाउने तथा स्वयंसेवकहरुलाई मन्दिर बाहिरको क्षेत्रमा मात्र परिचालन गर्ने निर्णय गरेको छ। कोषले भक्तजनलाई पशुपतिनाथको दर्शनपछि जुन ढोकाबाट छिरेको हो त्यही ढोकाबाट निस्कने व्यवस्था मिलाइएको जनाएको छ।
यस्तै, कोषले पशुपतिनाथ मन्दिको मुख्य क्षेत्रमा अघिल्ला वर्षमा जस्तो स्पिकर बजाउन नदिने निर्णय पनि गरेको छ। स्पिकरले भीड बढाउने भएकाले मन्दिरको मुख्य क्षेत्रमा स्पिकर राख्न र बजाउन नदिने निर्णय गरिएको सदस्यसचिव टण्डनले जानकारी दिए।
१७ भदाै, २०७३ ।
Comments