समाचार

बाढीको वितण्डा : बस्ती वगरमा परिणत

म्याग्दी– उत्तरी म्याग्दीको बेग गाविस–६ मा बिहीबार राती आएको बाढीले १४ घर बगाएको छ । बेनी–जोमसोम सडकखण्ड नजिक रहेको बस्तीलाई गाविसको माथिल्लो क्षेत्रमा पहिरो खसेपछि ठाडो खोलामा आएको बाढीले बगर बनाएको हो । 

मध्यरातमा बाढी बस्तीमा छिरेपछि स्थानीयले भागेर ज्यान जोगाएका थिए । बेगखोलाको माथिल्लो क्षेत्रमा भीषण पहिरो गएपछि आएको बाढीले पुर्ण प्रसाद सिंजाली, ओम कुमार सिंजाली, रत्न प्रसाद गर्बुजा, बल बहादुर पाईजा, बल बहादुर पुर्जा, टेक बहादुर बुढाथोकी, विर्ख बहादुर पाईजा, लोक बहादुर पुर्जा, निर बहादुर बुढाथोकी, कमल पाईजा, झ बहादुर गर्बुजा लगायतको घर बगाएको हो ।

बाढीमा परेर ४८ बर्षीय पुर्ण बहादुर सिंजाली सम्पर्कविहीन भएका छन् । प्रहरी निरीक्षक लोकेन्द्र  गुरूका अनुसार बाढीले घर सहित सम्पूर्ण सामाग्री बगाएपछि स्थानीयलाई बस्न खानको निकै समस्या भएको छ । बिहीबार राती अत्याधिक बर्षा भएपछि खोलाले बस्ती कटान गर्नुका साथै विस्तारै बगरमा परिणत भएको स्थानीय बताए । 

बाढीपिडितलाई उद्धार गर्न प्रहरी, नेपाली सेना, सशस्त्र र नेपाल रेडक्रस सहित स्थानीयबासी विहानै घटनास्थलमा पुगेका हुन् । बाढीले बेनी–मुस्ताङ जोड्ने बेलीब्रिज र झोलुङे पुल समेत बगाएको छ ।