चितवन– चितवन जिल्लामा गत वैशाख यता १ सय ६२ जना विरामीहरुमा स्क्रब टाइफसको लक्षण देखा परेको छ । अस्पतालमा भर्ना भएका ४ सय विरामीमध्ये १ सय ६२ जना विरामीमा स्क्रब टाइफसको लक्षण देखिएको हो । गएको एक सातामा थप १७ जना नयाँ बिरामी भेटिएसँगै स्क्रब टाइफसको लक्षण भएका विरामीको संख्या १ सय ६२ पुगेको हो ।
पछिल्लो एक सातामा ७० जना बिरामीको रगत परीक्षण गर्दा १७ जना विरामीमा यस्तो लक्षण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यसअघि भदौ पहिलो सातासम्ममा (वैशाखयता) १ सय ४५ जनामा सङ्क्रमण भएको पाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुसूदन कोइरालाका अनुसार पछिल्लो परीक्षणको नतिजा अनुसार तुलनात्मक रुपमा स्क्रब टाइफसको संक्रमण घटेको संकेत मिलेको हो ।
स्क्रब टाइफसका कारण पछिल्लो पटक दुईजनाको ज्यान गएको छ । यो सँगै बैशाखयता स्क्रब टाइफसका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । चितवनमा तीनवटा असपतालमा यसको परीक्षण सुरु भइरहेको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा परीक्षण थालिएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
भरतपुर अस्पतालमा ३७ जनाको परीक्षणमा तीन, नारायणी सामुदायिक अस्पतालमा २७ जनाको परीक्षणमा सात र चितवन मेडिकल कलेजमा ३२७ जनाको परीक्षणमा १५२ जनाका सङ्क्रमण भएको पाइएको हो । नेपालमा सबैभन्दा बढी चितवनमा यो रोग फैलिएकाे इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जानकारी दिएको छ ।
मुसामा हुने एक प्रकारको किर्ना ‘माइट’ले टोकेमा यो रोग सर्ने चिकित्सकले बताएका छन् । गत वर्षदेखि नेपालमा आधिकारिक पुष्टि भएको नयाँ रोग स्क्रब टाइफस उपचार सजिलो छ । तर रोगको पहिचानमा ढिलाइ भयो भने मात्रै मानिसको ज्यान जोखिममा हुने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् । यो एक प्रकारको ब्याक्टेरिया (रिकेटसिया) ले लगाउने रोग हो । झाडी वरिपरि, कृषि काम गर्ने, जताततै बस्ने र चौरझारमा बस्नाले यो रोग सर्ने सम्भावना बढी भएकाले सो क्षेत्रमा जाँदा होसियारी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
१५ भदाै, २०७३ ।
Comments