काठमाडौं– २०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पका कारण भग्नावशेषमा परिणत भएका भौतिक तथा पूरातात्विक सम्पदा निर्माणको कामले गति लिन सकेको छैन । ऐतिहासिक धरोहर धरहरा निर्माणको काम कागजमा मात्र सीमित बनेको छ । धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि पुनर्निर्माणका लागि थप काम अघि बढ्न नसकिरहेका बेला निर्माणको प्रक्रियामा रहेको रानीपोखरीको काम रोकिएको छ ।
पुरातत्व विभागले रानीपोखरीको काम अघि नबढाउन निर्देशन दिएको हो । मापदण्ड विपरीत काम भएको भन्दै यस अघि बनाइएको संचरना समेत भत्काउन विभागले निर्देशन दिएको छ । रानीपोखरीको बीचमा रहेको ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनुपूर्व जस्तो अवस्थामा थियो सोही अवस्थामा हुनुपर्ने विभागको दाबी छ । हाल निर्माण गरिएको जति पनि भाग छ ती सबैमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतका वस्तु प्रयोग भएकाले विभागले सोमबारदेखि निर्माण कार्यमा रोक लगाएको हो ।
धरहराको अवधारणागत नक्सा तयार गर्ने आर्टिकेक्ट इन्जिनियर मनोहर राजभण्डारीले आफूहरूले तयार पारेको नक्सा पुरातत्व विभागलाई बुझाइसकिए पनि त्यसमा विभागबाट थप कुनै प्रतिक्रिया वा सुझाव नआएको बताए । पुरातत्व विभागका अधिकारीको भनाइ भने उनको भनाइभन्दा ठीक विपरित छ । विभागका प्रवक्ता घनश्याम उपाध्याय भन्छन्, ‘सोही कम्पनीलाई धरहराको टोपोग्राफिक डिजाइन फाइनल गर्नका लागि एक महिनाको अवधि दिइएको छ ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकमहिनाको तलब धरहरा निर्माण कोषमा जम्मा गराई सुरु भएको धरहरा निर्माणमा जनसहभागिता अभियान समेत अहिले सुसुप्त अवस्थामा छ । नेपाली नागरिकबाट उठ्ने रकम धरहरा निर्माणका लागि अपुग भएमा बाँकी रकम सरकार र नेपाल टेलिकमले ब्यहोर्ने सहमति भएको भएपनि काम भने अघि बढ्न सकेको छैन ।
१४ भदाै, २०७३ ।
Comments