काठमाडौं- दुर्घटना न्यूनिकरणका लागि चेक जाँचमा कडाइँ भइरहँदा दुर्घटनाको क्रम बढेको छ । काभ्रेमा भएको दुर्घटना पछि सडक दुर्घटनाका घटना क्रमशः दोहोरिएका छन् । काभ्रेमा भएको दुर्घटनामा २८ जनाले ज्यान गुमाएको थिए । त्यसको एक साता नबित्दै फेरि यात्रुबहाक बस त्रिशुली नदीमा खस्यो । उक्त दुर्घटनामा २२ जनाको ज्यान गयो । फेरि सोही ठाउँमा ट्रक खस्दा ६ जना घाइते भए ।
पुनः आइतबार अर्घाखाची हंसपुर–रतनमारेमा जीप दुर्घटना हुँदा ११ जनाको मृत्युभएको छ । अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । सदरमुकाम सन्धिर्खकबाट त्युठानको बादीकोट जाँदै गरेको ग. १ ज ४८७८ नम्बरको जीप दुर्घटना भएको हो ।
दुर्घटनामा गुल्मी भनभने वडा नम्बर १ का ५९ वर्षीय बुद्धिबहादुर परियार, त्युठान बाङ्गेमरोठ वडा नम्बर ८ का ६८ वर्षीया शोभा सिंह रोका मगर, अर्घाखाँची हसपुर वडा नम्बर ४ का ३५ वर्षीय मीनबहादुर केसी, अर्घाखाँची हंसपुर वडा नम्बर १ का ३६ वर्षीय देवबहादुर थापा मगर, अर्घाखाँची सनपा वडा नम्बर ११ किमडाँडाका नारायणबहादुर राना, गुल्मी पुर्कोटदह वडा नम्बर ८ का ५९ वर्षीय भेषबहादुर थापा मगर र अर्घाखाँची धारापानी वडा नम्बर ६ की ३६ वर्षीया कमला पौडेलको मृत्युभएको छ । त्यस्तै, गुल्मी पुर्कोटदह वडा नम्बर ४ का ३७ वर्षीय जीवबहादुर कुँवर, अर्घाखाँची हंसपुर वडा नम्बर ५ का ४५ वर्षीय हुमबहादुर घर्तिमगर, अर्घाखाँची असपुर वडा नम्बर २ का ४५ वर्षीय रामबहादुर घर्तिमगर र अर्घाखाँची सनपा २ का ३२ वर्षीया सीता नेपालीको मृत्यु भएको हो । जीप चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । उकालोमा गाडीको बे्रक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जीपमा १६ जना सवार थिए ।
दुर्घटनाका घटना बढेसँगै सरकारले क्षमतामन्दा धेरै यात्रु बोक्ने सवारी साधनको रुट परमिट खारेज गर्नेगरी कानुन संशोधनको तयारी थालेको छ । दुर्घटना बढेपछि व्यवस्थापिका संसदमा सडक दुर्घटनाका कारण र त्यसको निराकरणका विषयमा भएको छलफलमा यातायात तथा भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले कानुन संशोधनको तयारी भएको जानकारी दिनुभएको हो ।
यसैबीच, सवारी दुर्घटना बढ्दै गएपछि चेकजाँचमा कडाइ थालिएको छ भने संवेदनशील क्षेत्रमा ट्राफिक चिह्न र सुरक्षाबार राखिने भएको छ । शुक्रबार बिहान बस र शनिबार बिहान ट्रक त्रिशूली नदीमा खसेपछि सुरक्षा निकाय र सडक डिभिजनको समन्वयमा सो सडक क्षेत्रमा ट्राफिक चिह्न र सुरक्षाबार निर्माण गर्ने कार्य थालिने भएको हो ।
चितवनको मौवाखोलादेखि आँपटारीसम्मको सडक क्षेत्रमा यो कार्य गरिने छ ।
सो सडकखण्डको मध्ये क्षेत्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायसहितको टोलीले शनिबार निरीक्षण गरी तत्काल काममा सहयोग पु¥याउन मातहतका प्रहरीलाई निर्देशन दिएको छ ।
Comments