समाचार

बस त्रिशुली नदीमा खस्यो, २० जनाको मृत्यु

काठमाडौ– रौतहटको गौरबाट पोखरा जाँदै गरेको रात्रिबस त्रिशुली नदीमा खस्दा २० जनाको मृत्यु भएको छ । आज बिहान नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकैबाट बस त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको हो । 
बसमा सवार मध्ये १३ जनको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार घाइतेको उद्धार भइरहेको छ । मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ ग १ ख ३७०९ नंको सो बस त्रिशूलीमा खसेको हो ।
यसैबीच,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको मुग्लिनमा भएको यात्रुबाहक बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले दुर्घटनामा घाइते भएकाहरुको तत्काल उद्दार गर्न, बेपत्ता भएकाहरुको खोजबिन गर्न तथा घाइतेको उपचार व्यवस्था मिलाउन स्थानीय प्रशासन र पार्टी कार्यकर्तालाई दिर्नेशन दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्–‘त्रिशुली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घाईतेको उद्दार, खोजबिन, उपचारका लागि प्रशासन र पार्टी पङ्तिलाई निर्देशित गर्दछु ।’