न्यूयोर्क– अमेरिकाको न्यूजर्सीमा यही अगस्ट २७–२८ तारिखमा हुन गइरहेको एनआरएनए नवौं क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्रीय सम्मेलनको तयारी पूरा भएको आयोजक समितिका संयोजक सोनाम लामाले जानकारी दिएका हुन् ।
कार्यक्रमको तयारीबारे जानकारी दिँदै संयोजक लामाले सम्मेलनको पूर्वतयारी र उपलब्धिका विषयमा जानकारी गराए । उनले सम्मेलनमा सहभागीताका लागि विभिन्न देशबाट संघका उच्च प्रतिनिधीहरुको आउने क्रम जारी रहेका जानकारी दिए । उनले भने– ‘क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा आयोजना गर्न पाउनु अमेरिकाबासी प्रवासी नेपालीहरुका लागि सौभाग्यको विषय हो, सम्मेलनलाई ऐतिहासिक एवं महत्वपूर्ण बनाउनुका साथै संघको प्रतिष्ठा र साख थप उँचो बनाउने काममा तपाइहरुको महत्वपूर्ण हात रहनेछ ।’
लामाको संयोजकत्वमा गठित बिभिन्न १४ सदस्यीय आयोजक समिति र २० सदस्यीय उप–समितिले अहोरात्र काम गरिरहेको र सबै समितिले गरेको काम परिणाममुखी र प्रशंसनीय रहेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
संघले स्थापनाकालदेखि नै नेपाल सरकारसँग माग्दै आएको नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको स्वदेशमा हक र अधिकार प्राप्तिको लागि तात्कालीन नेपाल सरकारका प्रमुख, संवैधानिक अंगका उच्च पदाधिकारी लगायतले महत्व र चासोका साथ रुपमा सकारात्मक कदम लिएकोमा आभार प्रकट गरेको छ ।
त्यस्तै, २०७२ बैशाख १२ मा नेपालमा गएको विनासकारी गोरखा भूकम्प र त्यसपछिका कैयौं परकम्प पश्चात् भएको क्षतिको तत्काल उद्धार, पुनिर्निर्माणमा संघले अग्रस्थानमा रहेर कार्यसम्पादन गरेको स्मरण गर्दै नवौं सम्मेलनले यस विषयमा बृहत् छलफल गर्ने संयोजक लामाले जानकारी दिए । सम्मेलनमा संघले आगामी ४ बर्षमा सम्पन्न गर्ने विभिन्न कार्यक्रमहरुको गुरुयोजना स्वरुप ‘भिजन २०–२० एण्ड बियोण्ड’ विषयमा वृहत्तर छलफल गरी भावी कार्यक्रमहरु प्रस्तुत गर्नेछ । यससँगै विश्वका बिभिन्न ७४ देशमा स्थापित अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसी) र राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरुको प्रगति विवरण र कार्यक्रमहरुको बारेमा मातहतका प्रतिनिधीहरुले जानकारी गराउनेछन् । सम्मेलन सहभागिताको हिसाबले मात्र नभएर विभिन्न नीति निमार्ण र कार्यक्रमको हिसाबले समेत ऐतिहासिक हुने अपेक्षा गरिएको छ ।
क–कसले गर्दैछन् सम्मेलनमा सम्बाेधन ?
एनआरएन नवौं क्षेत्रीय सम्मेलनमा नेपालबाट प्रमुख अतिथिको रुपमा पूर्व सभामुख एवं एमाले नेता सुबास नेम्बाङ उपस्थित हुने भएका छन् । उनले सम्मेलनमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संघले स्थापनाकालदेखि नै नेपाल सरकारसँग माग्दै आएको नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको स्वदेशमा हक र अधिकार प्राप्तिको विषयमा नेम्वाङले थप सम्बोधन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै, सम्मेलनमा सफल नेपाली व्यवसायीहरु विनोद चौधरी, उपेन्द्र महत्तो र एनआरएन अध्यक्ष डा. शेष घलेले व्यवसायिक सफलता र सम्भावनाहरुको बारेमा सम्बोधन गर्नेछन् । सम्मेलनमा न्युजर्सी राज्यका कंग्रेसम्यान डोनाल्ड पाईन जुनियर, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्की, नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क प्रमुख पुष्पराज भट्टराई, एनआरएनएका प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामीछाने लगायत अन्य बिशिष्ट पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एनआरएनएको गरिमा र प्रतिष्ठा देश–बिदेशमा बढ्दै गएको बर्तमान परिप्रेक्ष्यमा अमेरिकामा हुन लागेको क्षेत्रीय सम्मेलनलाई अहिले संसारभरबाट बिशेष महत्वका साथ हेरिदै आएको छ । त्यसैले सम्मेलनलाई ऐतिहासिक बनाउन सहभागीता, संघसँगको कार्यगत एकतासँगै, आवश्यकीय नीति निमार्णमाका लागि क्षेत्रीय संयोजक लामाले सबैसँग सल्लाह, सुझाव र रायको अपेक्षा राखेका छन् ।
कार्यक्रमका लागि २ करोडको प्रतिवद्धता
सम्मेलनका लागि हालसम्म विभिन्न प्रकारको प्रायोजक मार्फत नेपाली २ करोड भन्दा बढी रकम प्रतिवद्धता भइसकेको छ । प्रतिवद्धता जाहेर भए अनुसारको रकमको संकलन कार्य पनि जारी राखिएको छ । आयोजकले सम्मेलन स्थलबाट पनि अझ थप रकम संकलन गर्ने लक्ष्य लिएको छ । संकलित रकमको बचत रकम शत प्रतिशत नेपालमा एनआरएन हेडक्वार्टर निर्माणको लागि एनआरएनको खातामा जम्मा गरिने जनाइएको छ । यस सम्मेलनबाट नेपाली २ रकोड रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ ।
स्थानीय सहभागीको लागि के कस्तो सुविधा छ ?
नवौं क्षेत्रीय सम्मेलनको तयारी गर्दै गर्दा स्थानीय सहभागीहरुको सुविधाको लागि तीन प्रकारको दर्ता शुल्क निर्धारण गरिएको छ ।
वगीकृत दर्ता शूल्कः सम्मेलनको पूरा अवधीको (अगष्ट २७ र २८ ) को लागि ब्रेक फास्ट, लन्च र डिनर सहित २०० डलर तोकिएको छ । त्यस्तै, सम्मेलनको कुनै एक दिन (अगष्ट २७ र २८) को लागि ब्रेकफास्ट, लन्च र डिनर सहित १०० डलर तोकिएको छ भने सम्मेलनमा खाना खाजा नचाहिने सहभागिको लागि सांस्कृतिक कार्यक्रम लगायतको अन्य कार्यक्रमहरुमा भाग लिनको लागि सम्मेलनको पूरा अवधि (अगष्ट २७ र २८) को लागि दर्ता शूल ४० डलर तोकिएको छ । साथै, पत्रकारहरको प्रवेश एवं सहभागिताको हकमा हाल नियमित रुपमा प्रकाशन भइरहेका पत्रिका एवं अनलाइन पत्रिकाहरुको तर्फबाट एक–एक जना सञ्चारकर्मीलाई निशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।
यस सम्मेलनले एनआरएनएको नयाँ लक्ष्य, नयाँ रणनीति, नयाँ संरचना र नयाँ दृष्टिकोणको आविष्कार हुने आयोजकले विश्वास लिएको छ ।
Comments