काठमाडौं– नेपाली कांग्रेसभित्रको किचलोका कारण बुधबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार हुन सकेन । गुटगत भागवण्डा नमिल्दा मन्त्री छान्न सकस भएको हो । कांग्रेस नेता रामचन्द्र पौडेलले सरकारका आफ्नोतर्फबाट पाँच मन्त्री बनाउनुपर्ने सभापति शेरबहादुर देउवासँग माग गरेपछि अझैपनि कांग्रेसबाट को–को मन्त्री बन्ने हुन् टुंगो लागेको छैन ।
तर सभापति देउवाले भने पौडेललाई चारमन्त्री दिन तयार भएको बुझिएको छ । स्रोतका अनुसार बुधवार मन्त्रीको नाम फाइनल नभएको जानकारी सभापति देउवाले प्रधानमन्त्री दाहाललाई गराइसकेका छन्।
कांग्रेस सभापति देउवाले बिहिबार थप मन्त्रीहरुको नाम दिने बताएका छन्। तर प्रधानमन्त्रीले भने बिहिबार बिदाको दिन भएकाले मन्त्रीमण्डलको बिस्तार शुक्रवार मात्र गर्ने जानकारी गराएको बताइएको छ ।
जिल्ला सभापतिहरुको सम्मानमा महामन्त्री शशांक कोइरालाले मंगलबार आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रमका क्रममा भएको भेटमा पौडेलले आफ्नो पक्षको सम्मानजनक सहभागिता खोजेका थिए । पौडेल समुहको बुधबार बिहान भएको भेलाले ५ मन्त्री र ४ राज्यमन्त्री अनि मन्त्रालयहरुको पनि सम्मानजन बितरण नभई नजाने निर्णय गरेको कारण कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो ।
कांग्रेस समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री बनेको एक महिना बित्न लाग्दा सरकारमा सहभागितासहित अन्य विषयमा पार्टी छलफल नभएको भन्दै पौडेलले असन्तुष्टि जनाएका थिए।
Comments