काठमाडौं– गएको एक वर्षभित्र ज्यान गुमाएकाहरुको सम्झनामा उनीहरुका आफन्तले शुक्रबार गाइजात्रा पर्व मनाए । देशका विभिन्न ठाउँमा रहेका नेवार समुदायले गाई जात्रा मनाउने भए पनि काठमाडौं उपत्यकामा भने गाईजात्राको रौनक बैग्लै हुन्छ । त्यही भएर पनि सरकारले गाई जात्राको अवसरमा उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराइन्छ । श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसो गरेमा दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास छ ।
यसरी नगर परिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । उपत्यकाका हनुमानढोका, भक्तपुर र पाटन दरबार आसपास गाईजात्रामा सहभागीलाई परिक्रमा गराइन्छ । यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ ।
Comments