काठमाडौं– नेपालका लागि भारतीय राजदूत रणजित रायले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण छिट्टै हुने बताएका छन्। रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजदूत रायले निकट भविष्यमै नेपाल र भारतका उच्च अधिकारीको भ्रमण आदानप्रदान हुने जानकारी गराएका हुन्।
राजदूत रायले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बारेमा कुराकानी हुने बताए।
दुवै मुलुकबीच सम्बन्ध थप प्रगाढ बनाउन र उच्चस्तरीय राजनीतिक भ्रमण तय गर्न उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा यही भदौ २ गते भारत भ्रमणमा जाँदै छन्।
भारतले दोहोरो अङ्कको आर्थिक वृद्धिको लक्ष्य राखेको र त्यसका लागि छिमेकी मुलुकमा शान्ति एवम् स्थिरता चाहेको बताउँदै उनले भारतको समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा नारायण खड्काले भारतसँग नेपालको प्राचीन समयदेखि नै बहुआयामिक सम्बन्ध रहेको बताउँदै भारतले सकारात्मक सोचका साथ छिमेकमा भएका घट्नाका बारेमा राख्ने चिन्ता र चासोलाई हस्तक्षेप भन्न नहुने धारणा राखे।
नेकपा (माओवादी केन्द्र) नेता प्रभु साहले भारतसँगको नेपालको सम्बन्धलाई नयाँ परिवेशमा पुनरावलोकन गर्नुपर्ने बताउँदै दुवै मुलुकको साझेदारीमा सञ्चालन हुने परियोजना दुवैका हितमा हुनुपर्ने धारणा राखे।
नेकपा (एमाले) का सांसद डा राजन भट्टराईले नेपाल र भारतबीच भएका सन्धिसम्झौता कार्यान्वयन एवम् पुनरावलोकनका लागि दुवै मुलुकका सहभागी प्रबुद्ध समूहले काम अघि बढाएको जानकारी गराउँदै दुवै मुलुकले अबको मुद्दा आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने सुझाव दिए।
Comments