काठमाडौं, २३ साउन । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन अन्तर्गत उद्घाटन भएको ११ दिनपछि मतदान शुरु भएको छ । ९ वर्षपछि नेविसंघको गत साउन २३ गते उद्घाटन शत्र भए पनि प्रतिनिधि विवादका कारण चुनाव हुन सकेको थिएन । नयाँ नेतृत्वको लागि बधबार दिउँसोबाट मतदान शुरु भएको हो ।
पटक–पटक स्थगित हुँदै आएको महाधिवेशन सहज रुपमा अगाडि बढ्न सकेको थिएन । भृकुटीमण्डपमा तीन दिनका लागि हलहरु भाडामा लिइए पनि लम्बिने भएपछि महाधिवेशनका त्यसपछिका सम्पूर्ण कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सारिएको हो । आज बिहान ७ बजेबाट मतदान सुरु हुने भनिए पनि प्राविधिक कारण जनाउँदै झन्डै ५ घन्टापछि मात्रै मतदान सुरु भएको हो।
मतदानका लागि केही पदमा विद्युतीय उपकरण तथा केही पदमा कागजी मतपत्र प्रयोग गरिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। नयाँ नेतृत्वका लागि अध्यक्षमा सातजना चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन समितिले मंगलबार मध्यरातमा निकालेको अन्तिम नामावलीमा अध्यक्षका लागि नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, नगेनसिंह ठकुरी, बचन कार्की, लक्ष्मण आचार्य र शुभराम बस्नेत प्रतिस्पर्धामा छन् ।
दुईजना निर्वाचित महामन्त्रीका लागि पाँचजना बीच प्रतिस्पर्धा हुने भएको छ । महामन्त्रीमा सरोज थापा, कुन्दनराज काफ्ले, दीपक भट्टराई, शंकर पौडेल र हिमालदत्त श्रेष्ठ उठेका छन् । एक सय २९ सदस्य पदका लागि साढे ६ सय उम्मेदवार चुनावी मैदानमा छन् ।
१ भदाै, २०७३ ।
Comments