राजनीति

नेविसंघको नयाँ नेतृत्वका लागि मंगलबार चुनाव

काठमाडौं– नेपाल विद्यार्थी संघ संघको ११ महाधिवेशनका सबै निर्वाचन प्रक्रिया सोमबार नै टुंग्याएर मंगलबार मतदान हुने भएको छ । एक साताअघि उद्घाटन गरिएको महाधिवेशनको बन्द सत्र विना नै चुनावी प्रक्रिया अघि बढाइएको हो । विभिन्न जिल्लामा रहेको महाधिवेशन प्रतिनिधिको विवादले निर्धारित समयमा चुनाव हुन सकेको थियो ।
पार्टी सभापति शेरबहादुर देउवाले विवाद जिल्लाका मागहरुलाई यथासक्य मिलाएर जसरी पनि महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएपछि नेविसंघ आयोजक समिति अन्ततः विवादका बीच चुनाव सम्पन्न गर्ने अडानमा पुगेको हो । 
 
यसअघि निर्वाचन समितिले सोमबार बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको भए पनि विवादका कारण त्यसलाई संशोधन गरी बिहान ८ बजेदेखि दिउँसो एक बजेसम्म लम्बाइएको हो ।  मनोनयन दर्ताको समय अवधि लम्बिएसँगै अरु प्रक्रिया पनि प्रभावित भएका छन् । मनोनयन दर्तापछि उम्मेदवारको पहिलो नामावली प्रकाशन दिउँसो साढे दुई बजे हुनेछ । 
 
उम्मेदवारहरुको नामावली वर्णानुक्रमअनुसार प्रकाशित हुनेछ । नामावली वर्णानुक्रमअनुसार भए–नभएको दावी संशोधन माग गर्ने समय तीन बजेसम्म तोकिएको छ । त्यसपछि दोस्रो उम्मेदवारको नामावली प्रकाशन अपरान्ह साढे तीन बजे हुनेछ भने उम्मेदवारको मनोनयन पत्रमा दावी विरोध गर्ने समय साढे तीन बजेदेखि साढे चार बजेसम्म निर्धारण गरिएको छ ।
 
दावी विरोध उपर जाँझबुझ पछिको उम्मेदवारीको नामावली प्रकाशन साँझ साढे पाँच बजे र उम्मेदवारीको नामावली फिर्ताको समय साढे पाँच बजेदेखि साढे सात बजेसम्म तोकिएको छ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन राति ९ बजे हुने निर्वाचन समितिले जनाएको छ । 
 
मतदान भने मंगलबार बिहान सात बजेदेखि साँझ सात बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । मतदान नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा हुने छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।