काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा थपिएका तीन मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
तीन जना विनाविभागीय मन्त्रीले विहीबार मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । सरकारले बिना विभागीय मन्त्री दीपक बोहोरालाई आपूर्ति, विक्रम पाण्डेलाई भूमीसुधार र जयदेव जोशीलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
पहिलो चरणको मन्त्रिपरिषद्मै माओवादीका कृष्णबहादुर महरालाई उपप्रधान तथा अर्थमन्त्री र कांग्रेसका बिमलेन्द्र निधिलाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो । सँगै मन्त्रीको सपथ लिएका कांग्रेसका रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् भने माओवादीका गौरीशंकर थारुले कृषि र दलजीत श्रीपाली युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालीरहेका छन् ।
कांग्रेस र माओवादीकै आन्तरिक विवादका कारण प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले तत्काल पूर्णता पाउने सम्भावना नदेखिए पनि प्रधानमन्त्री दाहालले भने त्यस्तो कुनै समस्या नदेखिएको भन्दै केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्दै आएका छन् ।
Comments