न्युयोर्क

न्यूयोर्कमा साकेला उभौली विशेष कार्यक्रम गरिने

न्यूयोर्क । किरात राईहरुको महान चाड साकेला उभौली न्यूयोर्कमा भव्यरुपमा मनाइने भएको छ । न्यूयोर्कमा बसकोबास गर्दै आएका किरात राईहरुले आफूहरुको महान पर्व साकेला उभैलीको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छन् । न्यूयोर्कस्थित क्वीन्स ब्रिज पार्कमा आगामी जुन ५ तारिख साकेला उभौली विशेष कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमको आयोजना किरात राई सोसाईटी अफ अमेरिका, न्यूयोर्क च्याप्टरले गर्न लागेको हो । 
किराँत सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान् चाड साकेला उभौली साकेला नाच चण्डी पूणिर्मादेखि सुरू हुन्छ । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैवि प्रकोप तथा विपक्तिहरू नआउन् भनि चण्डि पूर्णिमा अर्थात सुम्निमाको सृष्टि भएको दिनदेखि यसलाई सास्कृतिक महोत्सवको रूपमा मनाउने गरिन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ। उभौली साकेला चाडमा राईहरू आफ्नो जातीय पहिरनमा साकेन्वा सिली नाच्छन् । कालो कोट, दौरा–सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउँदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई इसारा गर्दै नाच्छन् । 
गोलाकार घेरामा रहेर नाचिने साकेला नाचमा अहिले सबै जातीका युवायुवतीको समेत  सहभागिता बढ्दो छ । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि यी जातिहरूले भव्य रूपमा किराँती रीतिअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी चण्डी नाच नाच्दै १ महिना सम्म मनाउने गर्छन। किरातीहरू प्रकृति पूजक भएकोले प्रकृतिलाई खुशी पार्नका लागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात चण्डिपूर्णीमामा उभौली र अन्न वाली पाकिसकेपछि खुशियाली मनाउदै उधौली मनाउने गर्दछन् ।